
विराटनगर /न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियलिटी हस्पिटल विराटनगरले आफ्नो रजत जयन्ती वर्षगाँठको अवसरमा आयोजना गरेको रक्तदान कार्यक्रममा एकैदिन २५० पिन्ट रगत संकलन भएको छ ।
बुधबार झिः पुच भवनमा सम्पन्न उक्त कार्यक्रममा स्वास्थ्यकर्मी, स्वयंसेवक र सर्वसाधारणको उत्साहजनक सहभागिता रहेको थियो । नेपाल रेडक्रस सोसाइटी मोरङको प्राविधिक सहयोगमा सम्पन्न रक्तदानलाई जिल्लामा अहिलेसम्मकै ठूलो एकदिने संकलनका रूपमा लिइएको छ । रेडक्रस मोरङका सभापति सुकदेव मण्डलले भने, ‘यसअघि जिल्लामा कुनै पनि एकदिने कार्यक्रममा यति ठूलो परिमाणमा रगत संकलन भएको उदाहरण भेटिँदैन। हस्पिटलको यो पहलले रगतको बढ्दो आवश्यकता पूरा गर्न ठूलो योगदान पुर्याउनेछ ।’
हस्पिटलका संस्थापक तथा वरिष्ठ न्यूरोलोजिस्ट डा. वीरेन्द्रकुमार विष्टले रगतको अभावले कोही पनि जीवन गुमाउन नपरोस् भन्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको बताए । सामाजिक उत्तरदायित्वलाई अग्रसर गर्ने यस्ता अभियानले दीर्घकालीन सकारात्मक प्रभाव पार्ने उनको विश्वास थियो।
कार्यक्रममा हस्पिटलका प्याथोलोजिस्ट डा. सागरराज पाण्डेले रक्तदानको स्वास्थ्य महत्वबारे प्रकाश पार्दै, नियमित रक्तदानले शरीरलाई स्वस्थ राख्ने मात्र नभई समाजमा जीवनरक्षात्मक योगदान गर्ने बताए ।
रजत जयन्ती सप्ताहअन्तर्गत यसअघि सोमबार मानव सेवा आश्रममा निःशुल्क स्वास्थ्य शिविर र फलफूल वितरण गरिएको थियो । अपरेशनल डाइरेक्टर राजेश भट्टराईका अनुसार हस्पिटलले सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै विभिन्न सेवामूलक कार्यक्रम साताभर सञ्चालन गर्ने योजना अघि सारेको छ ।