Breaking Nepal

विराटनगर / आसन्न बडादशैँलाई अवसर बनाई विराटनगरमा यस वर्ष पनि ‘विराट सडक महोत्सव’ आयोजना हुने भएको छ ।
मन्जिना मुभिज क्रियसनको पहलमा आयोजना हुने महोत्सव असोज ६ गतेदेखि ११ गतेसम्म विराटनगरको हिमालय रोड क्षेत्रमा हुने आयोजकले जानकारी दिएको छ ।
पाँचौँ संस्करणमा प्रवेश गर्न लागेको महोत्सव यसपटक थप बृहत् रूपमा प्रस्तुत गरिने निर्देशक जतिन ताम्राकारले पत्रकार सम्मेलनमा बताए । उनका अनुसार, विभिन्न जातजातिका परम्परागत परिकारदेखि राष्ट्रिय स्तरका खानासम्मका २५ वटा स्टलहरू रहनेछन्। आगन्तुकहरूले एकै स्थानमा विविध स्वादको अनुभव लिन सक्नेछन् ।
महोत्सव अवधिभर दैनिक सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रम सञ्चालन हुनेछ । स्थानीय तथा राष्ट्रिय कलाकारहरूको प्रस्तुति, खेलकुद तथा सामुदायिक आकर्षणसहितका गतिविधि समावेश हुने बताइएको छ । आयोजकको अपेक्षा अनुसार, विराटनगरसँगै मोरङका ग्रामीण क्षेत्र र छिमेकी भारतीय शहरहरूमाबाट पनि ठूलो संख्यामा आगन्तुकहरू आउनेछन् ।
स्थानीय व्यवसायलाई प्रोत्साहन, पर्यटन प्रवर्द्धन र सांस्कृतिक एकताको सन्देश प्रवाह गर्ने लक्ष्यसहित आयोजना गरिँदै आएको यस सडक महोत्सवले विगतका संस्करणमा जस्तै यसपटक पनि विराटनगरलाई जीवन्त र उत्सवमय बनाउने अपेक्षा गरिएको छ ।