Breaking Nepal

सामान्यतया चिकित्सकलाई अस्पताल, स्टेथोस्कोप र रिपोर्टको संसारमा सीमित मानिन्छ । तर डा. बालकृष्ण साह ती सीमितताभित्र अटाउँदैनन् । स्त्री तथा प्रसूति रोग विशेषज्ञको रूपमा ख्यातिप्राप्त डा. साह कलम पनि उत्तिकै कुशलतापूर्वक चलाउँछन् । उनको पहिलो साहित्यिक कृति ‘गर्भको गर्व’ बजारमा आएको छोटो समयमै बेस्ट सेलर बन्यो र अहिले दोस्रो संस्करण प्रकाशनमा आइसकेको छ । आज भदौ १४ गते, शनिबार विराटनगरमा ‘गर्भको गर्व’ विषयमा एक विशेष संवाद कार्यक्रम हुँदैछ । जहाँ लेखक स्वयं पाठकमाझ आफ्ना अनुभव, प्रेरणा र भावनाहरू बाँड्ने छन् । यसै सन्दर्भमा डा. साहसँग ब्रेकिङ नेपालले गरेको संवादको सार :
‘गर्भको गर्व’ बेस्ट सेलर बन्नु तपाईंको लागि के अर्थ राख्छ ?
पुस्तकले बेस्ट सेलरको छाप पायो भन्ने खबरले जुन खुसी दिएको छ, त्यो केवल व्यक्तिगत सन्तोष होइन, यो सामाजिक जिम्मेवारीको अनुभूति हो । चिकित्सक भएर मैले वर्षौंदेखि स्वास्थ्य विषयमा लेख्दै आएको थिएँ—तर ती लेख सूचनामूलक थिए, भावना नभएका थिए । ‘गर्भको गर्व’ लेख्दा म पाठकको आँखाबाट समाज देख्न थालेँ, र पाठकले पनि डाक्टरको आँखाबाट जीवन बुझ्न थाले ।
पाठकको प्रतिक्रिया कस्तो रह्यो ?
अद्भुत । केही श्रीमानहरूले भने ‘किताब पढेपछि हामीले आफ्नी गर्भवती श्रीमतीलाई हेर्ने दृष्टिकोण नै फेरिएको छ ।’ कतिपय महिलाहरू भावुक भएर आफ्नो पीडा सुनाउँथे । पाठकले किताब पढेपछि आफूभित्र भएको परिवर्तनको अनुभव बाँडे, जसले मलाई डाक्टर मात्र होइन, एउटा लेखकको रूपमा पनि सामाजिक परिवर्तनको सहभागी बनायो ।
पहिलो कृतिमा नै यस्तो अपार माया पाउँदा लेखकको रूपमा तपाईं कत्तिको हौसिनुभएको छ ?
साच्चिकै हौसिएको छु । डाक्टर हुँदा शब्दहरू यथार्थका लागि हुन्थे, तर लेखक भएपछि ती शब्दहरू संवेदनाका लागि भए । लेखनले मलाई आत्मसन्तुष्टि दिएको छ । अब म जीवनका अरु अनुहारहरूलाई पनि कलममा उतार्न चाहन्छु—शरीरको मात्रै होइन, आत्माको उपचार गर्न लेख्न चाहन्छु ।
चिकित्सा पेशाबाट साहित्यतर्फ यात्रा कसरी सुरु भयो ?
मेडिकल स्कूलको पुस्तकको बीचमा कहिलेकाहीँ कविता घुसाइन्थ्यो । साथीहरूले लेखनको हौसला दिए । बिरामीको आँखामा आँसु देख्दा कहिलेकाहीँ त्यो कुरा म चुपचाप घर लगेर डायरीमा लेख्थें । पछि त्यही डायरी कथाको रूप लिन थाल्यो । कलमले मलाई उपचारको अर्को बाटो देखायो ।
‘गर्भको गर्व’ले स्वास्थ्य र साहित्य बीच सेतु निर्माण ग¥यो भन्ने तपाईंको भनाइ छ । यो सेतु कसरी सम्भव भयो ?
शरीरको उपचार च्याम्बरभित्र हुन्छ, तर चेतनाको उपचार समाजमै हुनुपर्छ । म च्याम्बरमा आउने आमालाई मात्र होइन, उनका श्रीमान्, सासु–ससुरालाई पनि सन्देश दिन चाहन्थेँ । तर सबै च्याम्बर आउँदैनन् । त्यसैले मैले लेखनलाई माध्यम बनाएको हुँ । ‘गर्भको गर्व’ एउटा कथा मात्र होइन, एउटा स्वास्थ्य अभियान हो, जहाँ साहित्य औषधिको अर्को रूप बनेको छ ।
स्वास्थ्य विषयलाई कथा–साहित्यमा कसरी मिसाउनुभयो ? कठिन भएन ?
सुरुमा लाग्थ्यो—विज्ञान कठोर छ, र साहित्य कोमल । तर मैले बुझें, यी दुई एउटै सिक्काका दुई पाटा हुन् । वैज्ञानिक तथ्यलाई कहिलेकाहीँ भावना चाहिन्छ, र भावनालाई सशक्त बनाउन तथ्य । ‘गर्भको गर्व’मा मैले गर्भवती महिलाको भोगाइलाई कथा बनाइदिएँ, ताकि स्वास्थ्य सचेतना पाठकको हृदयसम्म पुग्न सकोस् ।
अबको कृति कस्तो हुनेछ ? पाठकले के अपेक्षा राख्न सक्छन् ?
दोस्रो कृति पनि मातृस्वास्थ्य र परिवारभित्रको व्यवहार परिवर्तनमा केन्द्रित हुनेछ । यसपटक खासगरी पुरुषको भूमिकालाई गहिरो ढंगले चित्रण गरिएको छ—मातृत्वको यात्रामा उनीहरूको उपस्थितिलाई कहिले भुल्न मिल्दैन । लेखन करिब ८०% सकिएको छ, आशा छ यसले पनि पाठकको हृदय छोला ।
अबको महत्त्वपूर्ण माइलस्टोनः विराटनगरमा हुने कार्यक्रमबारे केही बताउनुहोस् न ?
भदौ १४ गते शनिबार, विराटनगरमा ‘गर्भको गर्व’ विषयमा विशेष संवाद कार्यक्रम हुँदैछ । म पाठकहरूसँग प्रत्यक्ष भेटघाटमा रहनेछु, उनीहरूको प्रश्नको उत्तर दिनेछु, र पुस्तकको भावनात्मक पृष्ठभूमि बाँड्नेछु । यो कार्यक्रम लेखक र पाठकबीचको पुल बन्नेछ ।
अन्त्यमा, तपाईंका पाठकलाई के भन्न चाहनुहुन्छ ?
‘गर्भको गर्व’ म लेख्ने व्यक्ति हुँ, तर यो तपाईंहरूको आफ्नै कथा हो । तपाईंहरूले पढेर आँसु झार्नुभयो, मुस्कान दिनुभयो, जिम्मेवारी महसुस गर्नुभयो भने, मेरो लेखन सफल भयो । तपाईंहरूको मायाले म लेखक भएँ, अब तपाईंहरूको साथले म अझै बढी संवेदनशील लेखक बन्ने छु ।