स्वीमिङ पुलमा डुबेर युवकको मृत्यु, प्रहरीको निगरानीमा सञ्चालक

Breaking Nepal

शनिबार ,भाद्र १४ , २०८२ १३:०१

झापा / झापाको विर्तामोडस्थित एक निजी स्वीमिङ पुलमा डुबेर एक युवकको ज्यान गएको छ ।

विर्तामोड नगरपालिका–३ का ३३ वर्षीय प्रकाश प्रसाईंको पौडी खेल्ने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । घटना विर्तामोड–२ मा जीवन ढुंगानाले सञ्चालन गर्दै आएको ‘ग्रीन पार्क कम्पाउण्ड’ भित्रको स्वीमिङ पुलमा भएको हो ।

प्रहरीका अनुसार प्रसाईं आफ्ना साथी केशव शिवाकोटीसँग पार्क घुम्न गएका थिए । उनीहरू शुक्रबार दिउँसो करिब ३ बजेतिर पौडी खेल्न पुलमा पसेका थिए । सोही क्रममा प्रसाईं डुबेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । तर, घटनाबारे प्रहरीले साँझ करिब ८ बजे मात्रै जानकारी पाएको हो ।

सूचना दिन ढिलाइ गरिएको भन्दै प्रहरीले स्वीमिङ पुल सञ्चालक ढुंगानाविरुद्ध लापरबाहीका आशंकामा अनुसन्धान थालेको जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी खगेन्द्रबहादुर खड्काले ‘घटनाको विस्तृत अनुसन्धान भइरहेको छ । सञ्चालकसँग सोधपुछ थालिएको छ,’ भने ।

प्रहरीका अनुसार स्वीमिङ पुलमा सुरक्षा उपायको अभाव, तालिम प्राप्त लाइफगार्ड नहुनु र आपतकालीन उद्धार प्रणाली कमजोर हुनु पछिल्ला वर्षमा डुबेर मृत्यु हुने घटनाको प्रमुख कारण बनेका छन् ।