Breaking Nepal

काठमाडौं / नेपाली सौन्दर्य र प्रतिभाको सर्वोच्च उपाधि मिस नेपाल वर्ल्ड २०२५ यसपालि लुना लुइँटेलले आफ्नो शिरमा सजाएकी छन् । शनिबार ललितपुरको गोदावरीस्थित सनराइज हलमा भव्य समारोहबीच सम्पन्न ग्राण्ड फिनालेमा २६ प्रतियोगीलाई पछाडि पार्दै उनी विजयी बनेकी हुन् ।
प्रतियोगितामा उरुषा भण्डारी प्रथम उपविजेता बनेर मिस नेपाल इन्टरनेसनल २०२५ को ताज पहिरिन सफल भइन् भने सोनी घले दोस्रो उपविजेता बनिन् । सोनीले यस वर्षको मिस नेपाल अर्थको उपाधि हात पारिन् । त्यस्तै मिस कोस्मो २०२५ को ताज दीपशिखा नेपालले जितेकी आयोजक संस्था द हिडन ट्रेजरले जानकारी दिएको छ ।
विजयी लुइँटेललाई आयोजकले ताज, ट्रफी र विभिन्न अवसरका ढोकासहित अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्रदान गर्ने घोषणा गरेको छ ।
नेपाली समाजमा सौन्दर्य प्रतियोगितालाई केवल रूपको प्रतिस्पर्धा नभई आत्मविश्वास, व्यक्तित्व, सामाजिक चेतना र नेतृत्व क्षमताको मूल्याङ्कनका रूपमा लिइँदै आएको छ । यस वर्षको प्रतिस्पर्धामा सहभागी युवतीहरूले सामाजिक दायित्व, महिलाको अधिकार, शिक्षा, स्वास्थ्य र वातावरण जस्ता विषयमा आफ्ना दृष्टिकोण प्रस्तुत गरेका थिए ।
द हिडन ट्रेजरले करिब तीन दशकदेखि निरन्तर मिस नेपाल प्रतियोगिता आयोजना गर्दै आएको छ । यसमार्फत विजेताहरूले अन्तर्राष्ट्रिय मंचमा नेपालको पहिचान र क्षमता प्रदर्शन गर्दै आएका छन् ।
यसपटकको फाइनल रातलाई झनै आकर्षक बनाउन विभिन्न सांगीतिक प्रस्तुति र सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरिएको थियो । अन्तिम प्रश्न–उत्तर चरणमा उत्कृष्ट जवाफ दिँदै लुना लुइँटेल निर्णायकमण्डलको मन जित्न सफल भएकी हुन् ।
📷 तस्बिर: द हिडन ट्रेजरको फेसबुक पेजबाट