Breaking Nepal

काठमाडौं / नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशमलाल चौधरीले पार्टी अध्यक्ष तथा पत्नी रञ्जिता श्रेष्ठसँग सबै प्रकारका सम्बन्ध अन्त्य भएको बताएका छन् ।
आइतबार सञ्चारकर्मीलाई चौधरीले आफूलाई कुनै जानकारी नदिई केन्द्रीय समिति बैठक बोलाइएको भन्दै रञ्जिताले ‘एकलौटी रूपमा’ सम्बन्ध समाप्त गरेको आरोप लगाए । ‘मलाई औपचारिक जानकारी केही छैन,’ उनले भने, ‘मिडिया र सामाजिक सञ्जालबाट मात्रै थाहा पाएँ ।’
रञ्जिताले आइतबारका लागि केन्द्रीय समिति बैठक आह्वान गरेकी छन् । बैठकमा समसामयिक राजनीतिक विषय, विधान संशोधन, सदस्य मनोनयन र निर्वाचन आयोगमा अद्यावधिकबारे छलफल हुने उल्लेख छ । उक्त बैठकमा सांसद, प्रदेशसभा सदस्य, पालिका प्रमुख–उपप्रमुखको अनिवार्य उपस्थिति अनिवार्य गरिएको छ ।
तर, रेशम पक्षका सांसद तथा प्रतिनिधिहरूले भने बैठक बहिष्कार गर्ने जनाएका छन् । यसअघि साउन १६ मा रेशम पक्षीय भेलाले रञ्जितालाई हटाएर लालवीर चौधरीलाई नयाँ अध्यक्ष घोषणा गरे पनि निर्वाचन आयोगले त्यसलाई मान्यता दिएको छैन ।
रेशमले जेलमै हुँदा पार्टीको स्थापना गरेको स्मरण गर्दै अहिले आफूलाई बाइपास गरेर एकलौटी नेतृत्व स्थापित गर्न खोजिएको आरोप लगाए । ‘म माग–मुद्दामा कहिल्यै चुप लाग्दिन, आवाज बुलन्द भइरहन्छ,’ उनले स्पष्ट पारे ।
नयाँ दल खोल्ने सम्भावनाबारे भने उनले इन्कार गर्दै भने, “म अर्को पार्टी खोल्दिन। मलाई नागरिक उन्मुक्ति पार्टीकै नामले चिन्छन्। म आफ्ना मुद्दामै अडिग रहन्छु।”