विराटनगर कारागारमा सेनाको कमाण्डमा सुरक्षा, प्रहरीले चलायो १६ राउन्ड गोली

Breaking Nepal

बुधबार ,भाद्र २५ , २०८२ १४:००

विराटनगर / मोरङको हाटखोलास्थित मोरङ कारागारमा रहेका कैदीबन्दीहरूले मंगलवार विद्रोहको प्रयास गरेपछि सुरक्षा निकायहरूलाई सतर्क बनाएको छ । कैदीहरूले मुख्य गेट तोड्न खोजेपछि स्थिति नियन्त्रणमा लिन नेपाल प्रहरीले १६ राउन्ड हवाई फायर गर्नुपरेको हो ।

प्रहरीले अवस्था नियन्त्रणमा लिन हम्मेहम्मे परेपछि नेपाली सेनाको टोली परिचालन गरिएको हो । सेनाले अहिले कारागारको कमाण्ड सम्हाल्दै सुरक्षा व्यवस्था कडा बनाएको छ ।

प्राप्त जानकारीअनुसार, कैदीहरूले ताला फोड्दै कारागारबाट भाग्ने योजनामा थिए । समयमै सूचना पाएपछि थप सुरक्षाकर्मी खटाइएर कारागारको वरिपरि घेराबन्दी गरिएको हो ।

मोरङ कारागारमा हाल १ हजारभन्दा बढी कैदीबन्दी छन् । घटनापछि कारागार परिसरमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त सुरक्षामा कडाइ गरिएको छ । स्थिति अहिले पूर्ण नियन्त्रणमा रहेको सुरक्षा स्रोतले जनाएको छ ।