खरानीको बिउबाटै नयाँ संरचना जन्माउने जेनजीको संकल्प

Breaking Nepal

बिहीबार ,भाद्र २६ , २०८२ १०:२७

काठमाडौं / जेनजी समूहले विद्यमान सत्तारूढ र प्रतिपक्षी दुवै राजनीतिक शक्तिप्रति गहिरो असहमति जनाउँदै उनीहरूले नयाँ शक्ति संरचनाको खाका सार्वजनिक गरेका छन् ।

एक अपिलमार्फत जेनजी समूहले स्पष्ट रूपमा भनेका छन्अ, न्तरिम सरकार गठनमा राज्य संयन्त्रका कुनै पनि तहमा बसेका व्यक्तिहरू, चाहे ती निर्वाचित जनप्रतिनिधि हुन् वा विगतदेखि सत्ताको सुविधाभोगी, सहभागी हुन सक्दैनन् । संसदभित्र रहेका वर्तमान दलहरूलाई समेत उक्त संरचनाबाट बहिष्कार गरिनुपर्ने उनीहरूको माग छ ।

उनीहरूको प्रस्तावअनुसार आगामी छ महिनाभित्र प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखसहितको आमनिर्वाचन हुनुपर्छ। सो चुनावका लागि विज्ञ, प्राविधिक र स्वतन्त्र सोच बोकेका व्यक्तिहरूको सहभागिता रहने एक अन्तरिम मन्त्रिपरिषद् गठन गरिनुपर्ने उनीहरूको धारणा छ । कानुनी संरचना निर्माणको जिम्मा निर्वाचित प्रतिनिधिसभालाई दिइनेछ, जसले राजनीतिक स्थायित्वको दिशामा दीर्घकालीन बाटो खोल्ने अपेक्षा गरिएको छ ।

विसं २०४६ यता राज्यको नाममा सेवा, सुविधा र अधिकार उपभोग गरेका सबैको सम्पत्ति छानबिन गर्न एक शक्तिशाली नागरिक आयोग गठनको माग गर्दै, जेनजी समूहले भ्रष्टाचारको ऐतिहासिक लेखाजोखा हुनुपर्ने बताएको छ । आयोगमार्फत अपचलित सम्पत्तिको राष्ट्रियकरण गरिने उनीहरूको अडान छ ।

अहिलेको आन्दोलनमा प्रतिगामी मानसिकता बोकेका तत्व, सत्ता संरचनाभित्रै रहेका अवसरवादी र विदेशी प्रभावमा चल्ने शक्तिहरूले जनआक्रोशलाई भ्रमित गर्न खोजेको जेनजीको दाबी छ। तथापि, उनीहरूले देशलाई खरानीको बिउबाटै नयाँ संरचना जन्माउने संकल्प व्यक्त गर्दै अहिलेको व्यवस्थाले युवाको सपना च्यातेको कटु यथार्थलाई परिवर्तनको इन्धन बनाउने जनाएका छन् ।