जेनजी आन्दोलनले कोशी सरकारका भवनदेखि सवारीसाधनसम्म ध्वस्त

Breaking Nepal

जेनिश कोइराला
मंगलबार ,भाद्र ३१ , २०८२ २०:१५

विराटनगर / भदौ २३ र २४ गतेको जेनजी आन्दोलनले कोसी प्रदेश सरकार मातहतका मन्त्रालय र कार्यालयलाई अन्धाधुन्ध आक्रमण गरेपछि प्रदेशभरै सरकारी संरचना ध्वस्त भएको छ । प्रारम्भिक विवरणअनुसार आन्दोलनले ४२ वटा सरकारी भवन र २३७ वटा सवारीसाधनलाई क्षति पुर्‍याएको छ ।

मंगलबार मुख्यमन्त्री हिक्मत कार्कीलाई बुझाइएको प्रतिवेदनमा प्रदेश प्रमुख सचिव चन्द्रकला पौडेलले राज्यको सम्पत्तिमा अकल्पनीय नोक्सानी भएको उल्लेख गरेकी छन् ।

सबैभन्दा बढी क्षति भवन र सवारीसाधनमा परेको छ । ४२ मध्ये १८ वटा सरकारी भवन पूर्ण रूपमा भत्किएका छन् भने २४ वटामा आंशिक क्षति पुगेको छ। त्यस्तै, २३७ सवारीसाधनमध्ये ७५ वटा चारपांग्रे र १६१ वटा मोटरसाइकल रहेका छन् । चारपांग्रेमध्ये ६४ वटा जलेर पूर्णरूपमा ध्वस्त भएका छन् भने ११ वटामा सामान्य क्षति भएको छ। मोटरसाइकलतर्फ १४४ वटा जलेर नष्ट भएका छन् भने १७ वटामा आंशिक क्षति पुगेको प्रतिवेदनमा उल्लेख छ ।

आन्दोलनकारीको आक्रमणका कारण सरकारी कामकाजमा ठुलो अवरोध भएको छ । कार्यालय भवन नै भत्किएपछि कतिपय जिल्लामा सेवा ठप्प भएको छ भने सवारीसाधन नष्ट हुँदा कर्मचारीहरूको आवागमन पनि रोकिएको छ । यसले प्रदेश सरकारलाई थप दबाबमा पारेको छ ।