Breaking Nepal

विराटनगर / सरकारले विदेशमा रहेका नेपाली नागरिकलाई पनि आगामी निर्वाचनमा मतदानको अवसर दिने तयारी गरेको छ ।
अध्यादेशमार्फत आवश्यक कानुन संशोधन गरेर भए पनि नेपालीलाई सार्वभौमसत्ता प्रयोगको समान अवसर दिलाउने गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए ।
गृह मन्त्रालय र निर्वाचन आयोगबीच बुधबार भएको छलफलमा मन्त्री अर्यालले विदेशमै मतदान केन्द्र स्थापना गरेर समानुपातिक प्रणालीमा सहभागी हुने वातावरण बनाउन कानुन संशोधनको तयारी भइरहेको बताए । सर्वोच्च अदालतको आदेश अनुसार अबको निर्वाचनदेखि नै यो व्यवस्था लागू गर्न सरकारले कानुनी र प्राविधिक अध्ययन अघि बढाउने बताइएको छ ।
‘सबै नेपाली नेपाल फर्केर मतदान गर्न सक्ने अवस्था छैन,’ मन्त्री अर्यालले भने, ‘त्यसैले राजदूतावासमार्फत वा प्रविधिको माध्यमबाट मतदानको वातावरण बनाउनुपर्छ ।’
विदेशमा रहेका नेपालीहरूमध्ये मलेसिया र खाडी मुलुकहरूमा पहिलो चरणमा मतदाता नामावली संकलन सुरु गर्ने निर्वाचन आयोगको योजना रहेको छ ।
यहीबीच, उमेर पुगे पनि मतदाता नामावलीमा नाम नपरेका युवालाई पनि सहभागी गराउन कानुनमा सुधार गरिने मन्त्री अर्यालले जानकारी दिए । अध्यादेश ल्याएर भए पनि उनीहरूलाई आगामी निर्वाचनमा सहभागी बनाउने सरकारको स्पष्ट योजना रहेको छ ।
निर्वाचन आयोगले भने अहिलेसम्मको तयारी विद्यमान कानुनअनुसार भएको भन्दै सरकारसँगको परामर्शपछि आवश्यक संशोधन कार्यान्वयन गर्न आफू तयार रहेको जनाएको छ।
एनआरएनएले विगतदेखि नै मतदानको अधिकार दिन माग गर्दै आएको थियो । उसले विदेशमा कमाएको पैसा चल्ने तर विदेशमा रहेका नेपालीको भोट नचल्ने भन्दै मतदान अधिकार नदिएकोमा विरोध गर्दै आएको थियो ।