प्रधानमन्त्री कार्कीको पहिलो सम्बोधन आज साँझ, निर्वाचन तयारी मुख्य एजेन्डा

Breaking Nepal

बिहीबार ,आश्विन ९ , २०८२ ०६:३९

काठमाडौं / अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले आज साँझ राष्ट्रका नाममा सम्बोधन गर्ने भएकी छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार सम्बोधन साँझ ६ बजे हुनेछ ।

भदौ २७ गते प्रधानमन्त्री पदमा नियुक्त भएकी पूर्वप्रधानन्यायाधीश कार्कीले जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकारको नेतृत्व गरिरहेकी छन् । प्रधानमन्त्री पद सम्हालेपछिको यो उनको पहिलो राष्ट्रसम्बोधन हो ।

सरकारको प्राथमिक कार्यसूची प्रतिनिधिसभा विघटनपछि घोषणा गरिएको आगामी फागुन २१ गतेको निर्वाचन सम्पन्न गर्नु नै रहेको छ । कार्की नेतृत्वको मन्त्रिपरिषद् हालसम्म तीनपटक विस्तार भइसकेको छ ।

निरन्तर दबाब र चासोबीच कार्कीको सम्बोधनले सरकारको आगामी दिशा–निर्देश र निर्वाचन तयारीबारे स्पष्ट सन्देश दिने अपेक्षा गरिएको छ ।