Breaking Nepal

काठमाडौं / हमासद्वारा अपहरणमा परेका नेपाली विद्यार्थी बिपिन जोशीको जीवित रहेको नयाँ प्रमाण सार्वजनिक हुन लागेको छ । इजरायली गुप्तचर निकायले गाजामा रहेका जोशीको एउटा नयाँ भिडियो प्राप्त गरेको र सो भिडियो बुधबार साँझ सार्वजनिक गरिने बन्धक परिवार फोरमले जनाएको छ ।
जोशी परिवारले दिएको विज्ञप्तिमा भनिएको छ, ‘गाजामा फेला परेको यो जीवनको प्रमाण, जुन हामी आज तपाईंहरूसँग साझा गर्दैछौं, यसले हामीलाई उहाँ जीवित हुनुहुन्छ भन्ने अटल विश्वास दिन्छ ।’
बिपिन जोशी इजरायलको किबुत्ज आलुमिमस्थित कृषि तालिम कार्यक्रममा सहभागी विद्यार्थी हुन् । उनी हमासद्वारा गत वर्ष कात्तिक २० गते (अक्टोबर ७, २०२३) मा इजरायलमाथि भएको आक्रमणका क्रममा अपहरणमा परेका थिए ।
अमेरिकाको वाल स्ट्रिट जर्नलले २०२३ नोभेम्बरमा प्रकाशित गरेको समाचारअनुसार, जोशीले हमासको आक्रमणका बेला आफू बसेको आश्रयस्थलमा अन्य नेपाली साथीहरूको ज्यान जोगाउन साहसिक प्रयास गरेका थिए ।
समाचारअनुसार, हमास लडाकुहरूले दुई वटा ग्रेनेड झ्याल नभएको कोठामा फ्यालेका थिए । तीमध्ये एउटा ग्रेनेड जोशीले समातेर कोठाबाट बाहिर फ्यालेका थिए भने दोस्रो ग्रेनेड विस्फोट हुँदा पाँच जना नेपाली गम्भीर घाइते भएका थिए ।
जेरुसेलम पोस्टले जनाएअनुसार, जोशीलाई हमासले अपहरण गरी गाजातर्फ लगेको र केही समय शिफा अस्पतालमा राखिएको थियो । यद्यपि, उनको जीवित अवस्थाको पुष्टि गर्ने प्रमाणहरू धेरै नआएको उल्लेख गरिएको छ । अघिल्लो एक भिडियोमा मात्र उनलाई सो अस्पतालमा राखिएको देखिएको थियो ।
नेपाल सरकार र सम्बन्धित निकायहरूले जोशीको उद्धारका लागि कूटनीतिक प्रयास जारी राखेका छन् । नयाँ भिडियो सार्वजनिकसँगै उनको अवस्थाबारे थप स्पष्टता आउने अपेक्षा गरिएको छ ।