सुन काण्डमा पूर्वउपराष्ट्रपति पुन मुछिँदै, दुई छोरादेखि सचिवालयसम्म अनुसन्धानको घेरामा

Breaking Nepal

सोमबार ,आश्विन २७ , २०८२ ०८:४२

काठमाडौं /  सुन तस्करीको चक्रव्यूहमा अहिले नेपालका ठूला राजनीतिक नामहरु एकपछि अर्को गर्दै तानिँदै गर्दा माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ पनि अनुसन्धानको घेरामा आएका छन् ।

विद्युतीय चुरोट (भेप) र ब्रेक सुमा लुकाइएको सुन तस्करी प्रकरणमा पक्राउ परेका माओवादी नेता तथा पूर्वसभामुख कृष्णबहादुर महरापछि अब पुन र उनको परिवारप्रति पनि प्रहरीको निगरानी तीव्र बनेको छ ।

नेपाल प्रहरीका एक उच्च स्रोतका अनुसार पुनका दुई छोरादेखि निज सचिवालयका सदस्य र नजिकका आफन्तहरूसम्म सुन तस्करीमा संलग्नताको आशंकामा अनुसन्धान सुरु भइसकेको छ ।

जेठा छोरा जितेन्द्र : चिनियाँसँग ‘तमसुक’ गरेर ४ किलो सुन बुझेको आरोप

पूर्वउपराष्ट्रपति पुनका जेठा छोरा जितेन्द्र पुनमाथि चीनको ताक्लाकोटमा चिनियाँ समूहसँग मिलेर सुन बुझेको आरोप लाग्दै आएको छ ।
दुई वर्षअघि शक्तिको दुरुपयोग गर्दै उनले आफूलाई हुम्लाबासी देखाएर गृह मन्त्रालयबाट परिचयपत्रसमेत बनाएका थिए । सोही परिचयपत्रको आधारमा उनी चीन प्रवेश गरेका थिए र चिनियाँ समूहसँग ‘तमसुक’ गरेर चार किलो सुन लिएको समाचार त्यसबेला सार्वजनिक भएको थियो ।

उक्त सुनको मूलधनसहित ब्याज बुझाउन असफल भएपछि प्रकरण सतहमा आएको प्रहरी स्रोतको दाबी छ। हाल जितेन्द्र अमेरिका बसोबासमा रहेको बताइन्छ।

कान्छा छोरा दीपेश : सुन तस्करी, सहकारी ठगी र भुटानी शरणार्थी प्रकरणसम्म मुछिएको ट्र्याक रेकर्ड

पुनका कान्छा छोरा दीपेश पुन त झन् ‘मल्टी केस’ पात्र बनेका छन् । २०८० सालमा हङकङबाट ब्रेक सुमा लुकाएर ल्याइएको ६१ किलो सुन र २०७९ मा भेपमार्फत ल्याइएको ९ किलो सुन तस्करी प्रकरणमा दीपेशको प्रत्यक्ष संलग्नता देखिएको छ ।

यस विषयमा गठन भएको छानबिन आयोगले पनि दीपेशको नाम किटान गर्दै थप अनुसन्धान गर्न सरकारलाई औपचारिक सिफारिस गरिसकेको छ ।

सचिवालय र आफन्त पनि मुछिए : वैदेशिक मामिलाका विज्ञदेखि होटल सञ्चालकसम्मको भूमिकामाथि प्रश्न

पुन उपराष्ट्रपति रहेका बेला सचिवालयमा ‘वैदेशिक मामिला विज्ञ’ पदमा नियुक्त जीवनकुमार गुरुङ २०८० फागुनमा सुन तस्करीकै आरोपमा पक्राउ परेका थिए । उनी धरौटीमा रिहा भएका छन् ।

त्यस्तै पुनकी नातेदार अमला रोका पनि ठमेलस्थित ‘होटल भियना’ सञ्चालकको हैसियतमा उक्त प्रकरणमा जोडिएकी हुन् । उनी पनि दुई लाख धरौटी बुझाएर छुटेकी थिइन् ।

पुनको चिनियाँ नेटवर्कमाथि कडा निगरानी

पूर्वउपराष्ट्रपति पुनको चिनियाँ समूहसँगको सम्बन्ध, सचिवालयका सदस्यहरूको संलग्नता र छोराहरूको गतिविधि हेर्दा घटनामा सिधा वा परोक्ष संलग्नता रहेको आशंका प्रहरीले उठाएको छ । यही आधारमा अहिले प्रहरी चरणबद्ध रूपमा अनुसन्धान अघि बढाइरहेको छ ।