सन्दीपको जादुई अन्तिम ओभरमा नेपालको रोमाञ्चक जित, कतार पाँच रनले पराजित

Breaking Nepal

मंगलबार ,आश्विन २८ , २०८२ ०२:५८

विराटनगर / अन्तिम ओभरमा स्पिनर सन्दीप लामिछानेले १० रन जोगाएसँगै नेपालले आईसीसी टी–२० विश्वकप एसिया–प्यासिफिक क्षेत्रीय फाइनल सुपर–६ अन्तर्गत दोस्रो खेलमा कतारमाथि पाँच रनको रोमाञ्चक जित हात पारेको छ ।

सोमबार ओमानको अल अमेरात मैदानमा १४८ रनको लक्ष्य पछ्याएको कतार १९.५ ओभरमै १४२ रनमा समेटिँदा नेपाल विजयी बन्यो ।

अन्तिम ओभरमा जितका लागि कतारलाई १० रन आवश्यक थियो। कप्तान रोहित पौडेलले बल सन्दीपलाई सुम्पिँदै विश्वास प्रकट गरे। सन्दीपले पहिलो दुई बल डट राखेपछि दबाबमा आएका अमिर फाकरुक तेस्रो बलमा ‘स्टेप अप’ गर्दै प्रहार गर्न खोज्दा आसिफ सेखको स्टम्पिङमा आउट भए । बाँकी बलमा कतारले रन बटुल्ने प्रयास गरे पनि अन्तिम बलमा वाइडपछि स्टम्पिङ आउट हुँदै जित नेपालको पोल्टामा पर्‍यो ।

पहिले ब्याटिङ गरेको नेपालका कप्तान रोहित पौडेलले ४१ बलमा सात चौका र एक छक्कासहित ५८ रनको उत्कृष्ट पारी खेले । दीपेन्द्रसिंह ऐरीले २६ रन र गुल्सन झाले आठ बलमा दुई छक्कासहित १६ रन जोडे ।

बलिङमा कतारका मिर्जा मोहम्मद बाइग र ड्यानियल आर्चरले समान तीन–तीन विकेट लिँदा नेपालका सन्दीपले निर्णायक स्पेल गरे ।

कतारका ओपनर इमाल लियानागेले ३५ बलमा ५६ रन र जुबाएर अलीले ५२ रन जोडे पनि टिमलाई जित दिलाउन सकेनन् ।

सन्दीपको सटिक बलिङ र आसिफ सेखको चुस्त विकेटकिपिङले निर्णायक क्षणमा कमाल गर्दै नेपाललाई अर्को रोमाञ्चक जित दिलाएको हो ।