तिहारको उज्यालोले मन पनि प्रकाशमान बनाओस् : मेयर कोइराला

Breaking Nepal

सोमबार ,कार्तिक ३ , २०८२ ०६:४७

विराटनगर / प्रकाश, रंग र उमंगको पर्व शुभदीपावली अर्थात् तिहारका अवसरमा विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले सबै नगरवासीलाई हार्दिक शुभकामना व्यक्त गरेका छन् ।

मेयर कोइरालाले तिहारलाई पारिवारिक प्रेम, सामाजिक सद्भाव र सांस्कृतिक एकताको प्रतीकका रूपमा वर्णन गर्दै देवी लक्ष्मीको आराधनाले धन, ऐश्वर्य, सुख–सम्पन्नता र सकारात्मक ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गरे ।

“भाइटीकाको आत्मीयता, कुकुर तिहारको निष्ठा, गाई तिहारको श्रद्धा र लक्ष्मीपूजाको उज्यालो— यी सबैले नेपाली समाजमा आपसी प्रेम र सामाजिक एकताको सन्देश फैलाएका छन्,” कोइरालाले भने ।

उनका अनुसार तिहारले अन्धकारमाथि उज्यालोको, असत्यमाथि सत्यको र निराशामाथि आशाको विजयको अनुभूति गराउँछ । उनले थपे, “तिहारको उज्यालोले हाम्रा घर–आँगन मात्र होइन, हाम्रा मन पनि उज्यालो बनाओस् भन्ने कामना गर्दछु ।”

मेयर कोइरालाले दीपावलीलाई स्वच्छ, हरित र सभ्य विराटनगर निर्माणमा सबै एकजुट भएर मनाउन नगरवासीलाई आग्रह पनि गरे ।

“यस पर्वले हरेक घरमा समृद्धि, स्वास्थ्य, शान्ति र खुशियालीको उज्यालो फैलाओस्,” भन्दै उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण विराटनगरबासीलगायत नेपालीमा तिहारको शुभकामना व्यक्त गरेका छन् ।