Breaking Nepal

झापा / यस वर्षको नयाँ सिजन सुरु हुनासाथ ‘खोल्साको सुन’ मानिने अलैंचीको मूल्य एक लाख रुपैयाँ नाघेपछि किसान उत्साहित भएका छन् । बजारमा प्रतिमन (४० केजी) अलैंची ९८ हजारदेखि एक लाख दुई हजार रुपैयाँसम्म कारोबार हुन थालेको नेपाल अलैंची व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष दीपक नेपालले जानकारी दिए ।
उनका अनुसार सिजनको सुरुवातमै पाएको यो मूल्य विगत वर्षकै उच्च दर हो, जसले किसानहरूमा थप उत्साह जगाएको छ । “असोज–कात्तिकमै अलैंचीले यस्तो मूल्य पाउनु निकै सकारात्मक संकेत हो,” अध्यक्ष नेपालले भने, “यसले मंसीर–पुसतिर अझै मूल्य वृद्धि हुने सम्भावना देखाउँछ ।”
फिदिम नगरपालिका–७ रानीटारका किसान प्रताप तामाङका अनुसार यस सिजन व्यवसायीहरू गाउँमै पुगेर एक लाख दुई हजार रुपैयाँसम्म प्रतिमनमा अलैंची खरिद गर्न थालेका छन् । “भट्टी सुकाउने बेला नै यस्तो मूल्य पाउँदा हामी निकै हौसला पाएका छौं,” उनले बताए। त्यस्तै, पाँचथर याङवरक–३ का किसान वीरेन्द्रबहादुर लिम्बूले पनि स्थानीय बजारमा अलैंचीको मूल्य एक लाख रुपैयाँ नाघेपछि किसान उत्साहित बनेको बताए ।
नेपालमा ४२ जिल्लामा अलैंची खेती हुने गरेकोमा कोशी प्रदेशका पाँचथर, ताप्लेजुङ, इलाम, संखुवासभा, खोटाङ, भोजपुर र तेह्रथुम प्रमुख उत्पादक जिल्ला हुन् । नेपालमा उत्पादित ९० प्रतिशतभन्दा बढी अलैंची झापाको काँकडभिट्टा नाकामार्फत भारत निर्यात हुन्छ । भारत पुगेको अलैंची त्यहाँ ‘ब्रान्डिङ’ भएर अन्तर्राष्ट्रिय बजारसम्म पुग्ने व्यवसायी महासंघका अध्यक्ष नेपालले बताए ।
महासंघका निवर्तमान अध्यक्ष निर्मल भट्टराईका अनुसार विगतमा किसानले बिक्री सकेपछि मात्रै मूल्य बढ्ने गरेकोमा यो वर्ष सिजनकै सुरुवातदेखि दर बढ्न थालेको छ । अन्तर्राष्ट्रिय बजारमा माग बढ्नु र उत्पादन केही घट्नुले मूल्य वृद्धिमा सहयोग पुर्याएको उनको भनाइ छ ।
अलैंची निर्यात पनि उत्साहजनक रुपमा बढेको छ । मेची भन्सार कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासिकमा रु. १ अर्ब ६७ करोड ९१ लाख ७५ हजार बराबरको अलैंची निर्यात भएको छ, जुन अघिल्लो वर्षको सोही अवधिभन्दा ३३ प्रतिशतले बढी हो। यस अवधिमा एक हजार ७२ मेट्रिक टन अलैंची निर्यात भएको कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईले जानकारी दिए ।
उनका अनुसार अघिल्लो वर्षको सोही अवधिमा रु. १ अर्ब ७ करोड २२ लाख बराबरको अलैंची मात्र निर्यात भएको थियो । निर्यात वृद्धि र बजार मूल्य उकालो लागेसँगै अलैंची किसान प्रत्यक्ष रूपमा लाभान्वित भएका छन् ।
अन्तर्राष्ट्रिय बजारमा माग बढ्दै गएको र स्थानीय बजारमा मूल्य उच्च स्तरमा स्थिर रहँदा यस वर्ष पनि अलैंची किसानका लागि आर्थिक वर्ष लाभदायक हुने अनुमान गरिएको छ ।