धरानका मेयर हर्क साम्पाङको ‘श्रम संस्कृति पार्टी’लाई आधिकारिक मान्यता, चुनाव चिन्ह ‘माटो’

Breaking Nepal

आइतबार ,कार्तिक १६ , २०८२ १५:३९

काठमाडौं / धरानका मेयर हर्कराज (हर्क) साम्पाङद्वारा स्थापना गरिएको श्रम संस्कृति पार्टीलाई निर्वाचन आयोगले आधिकारिक मान्यता प्रदान गरेको छ । साम्पाङ आइतबार आयोगको केन्द्रीय कार्यालय पुगेर दल दर्ताको प्रमाणपत्र ग्रहण गरेका छन् ।

निर्वाचन आयोगले दर्ता प्रक्रिया पूरा गर्दै पार्टीलाई चुनाव चिन्हका रूपमा ‘माटो’ प्रदान गरेको छ। पार्टीको नाम र चिन्ह दुवै साम्पाङको श्रम–केन्द्रित राजनीतिक विचारलाई प्रतिबिम्बित गर्ने देखिन्छ ।

श्रम संस्कृति पार्टीको केन्द्रीय समितिमा २८ सदस्य रहेका छन् । पाँच पदाधिकारीमध्ये पार्टी अध्यक्ष स्वयं हर्क साम्पाङ रहेका छन् भने उपाध्यक्षमा देवराज लामा, महासचिवमा आर्यन राई, कोषाध्यक्षमा समिता राई, र प्रवक्तामा अरुण गुरुङ चयन भएका छन् ।

गत असोज १२ गते (आइतबार) साम्पाङ आफैं निर्वाचन आयोग पुगेर दल दर्ताको निवेदन दिएका थिए। स्थानीय सरकार सञ्चालनमा ‘जनताको श्रम र सहभागिता’लाई राजनीतिक मूलधारमा ल्याउने लक्ष्यसहित पार्टी गठन गरिएको बताइएको छ ।

साम्पाङले श्रम संस्कृति पार्टीलाई वैकल्पिक राजनीतिक शक्ति बनाउने तयारी गरिरहेको संकेत दिएका छन् । उनका अनुसार पार्टीले स्थानीय तहदेखि राष्ट्रिय स्तरसम्म ‘श्रम, इमान र पारदर्शिताको राजनीतिलाई’ अभियानका रूपमा अघि बढाउने योजना बनाएको छ ।