हुलाकी सडक निर्माण ठेक्का रद्द, नयाँ प्रक्रियामार्फत काम अघि बढाउने निर्णय

Breaking Nepal

बिहीबार ,कार्तिक २० , २०८२ २०:०८

विराटनगर / हुलाकी सडकअन्तर्गत कटहरी सडक खण्डमा निर्माण कार्य ढिलो हुँदै आएको विषयमा विवाद उत्पन्न भएपछि बिहीबार जिल्ला प्रशासन कार्यालय मोरङमा बसेको सर्वपक्षीय बैठकले विद्यमान ठेक्का सम्झौता रद्द गरी नयाँ प्रक्रियामार्फत काम अघि बढाउने निर्णय गरेको छ।

प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलको अध्यक्षतामा बसेको बैठकले हुलाकी सडक रतुवादेखि केसलियासम्मको सडकको निर्माण कार्य स्थगन गरी नयाँ ठेक्का प्रक्रिया अघि बढाउने सहमति गरेको हो ।

बैठकमा सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइराला, मोरङका प्रहरी प्रमुख एसपी कवित कटवालसहित स्थानीय जनप्रतिनिधि, ठेकेदार प्रतिनिधि, प्रहरी अधिकारी तथा सरोकारवाला सहभागी थिए ।

निर्णयअनुसार ठेक्का रद्द गरी नयाँ प्रक्रिया अघि बढाइनेछ । साथै, सडक बन्दका कारण सामान्य जनजीवन प्रभावित हुन नदिन तत्काल वैकल्पिक व्यवस्थासमेत मिलाइने उल्लेख गरिएको छ ।

स्थानीयवासीले लामो समयदेखि निर्माण ढिलाइ र कामको गुणस्तरप्रति असन्तुष्टि जनाउँदै आएका थिए । यसअघि सडक अवरोधसमेत गरिएको थियो ।

बैठकका सहभागीहरूले सहमतिको आधारमा समस्या समाधान गरी कामलाई द्रुत गतिमा अघि बढाउने प्रतिवद्धता जनाएका छन् ।