Breaking Nepal

धनकुटा / नेकपा एमालेका स्थायी समिति सदस्य तथा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले वर्तमान संघीय सरकारले निर्वाचन गराउने मनसायभन्दा पनि संविधान नै निष्प्रभावी पार्ने उद्देश्य राखेको आरोप लगाएका छन् ।
शनिबार धनकुटामा आयोजित एमालेको जनप्रदर्शन तथा आमसभा कार्यक्रममा सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले सरकारले लोकतान्त्रिक प्रक्रियालाई कमजोर पार्ने किसिमका गतिविधि अघि बढाइरहेको दाबी गरे ।
कार्कीका अनुसार सरकार निर्वाचनको तयारीका नाममा राष्ट्रलाई असफल बनाउने षड्यन्त्रमा लागेको छ । उनले भने, “चुनाव गराउने जिम्मेवारी बोकेको सरकारले उल्टै संविधान नै खारेज गर्ने वातावरण बनाइरहेको छ, जुन अत्यन्तै चिन्ताजनक छ ।”
गौरीबहादुर कार्की नेतृत्वको छानबिन समितिबारे पनि प्रतिक्रिया दिँदै उनले अध्यक्ष केपी शर्मा ओली बयान दिन नजानुको कारण सरकारद्वारा गठित समितिको निष्पक्षतामा प्रश्न रहेको उल्लेख गरे । उनले भने, “यदि सरकारले कानुन र प्रक्रिया अनुसार निष्पक्ष आयोग गठन गर्छ भने, एमाले पूर्ण रूपमा सहयोग गर्न तयार छ ।”
फरक प्रसंगमा एमाले नेता कार्कीले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई लक्षित गर्दै नेपालका कारण नै कम्युनिष्ट आन्दोलनलाई सबैभन्दा ठूलो धक्का पुगेको टिप्पणी गरे । उनका अनुसार नेपालले गरेका कदमहरू क्षमायोग्य छैनन् ।