Breaking Nepal

काठमाडौं / निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गतको सम्पूर्ण कार्यक्रम आगामी २० मंसिरदेखि औपचारिक रूपमा सञ्चालन गर्ने जनाएको छ । आयोगबाट स्वीकृत कार्यतालिका अनुसार दल र उम्मेदवार दर्तादेखि मतदानसम्मका सबै चरण क्रमशः पूरा गरिनेछ ।
आयोगका अनुसार समानुपातिक निर्वाचनमा भाग लिन इच्छुक राजनीतिक दलहरूले २१ मंसिर बिहान १० बजेदेखि २३ मंसिर दिउँसो ४ बजेसम्म निवेदन दाखिला गर्न सक्नेछन् । दलहरूबाट प्राप्त निवेदनको नामावली २४ मंसिर बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म सार्वजनिक गरिनेछ ।
उम्मेदवार मनोनयनका लागि दलहरूले १३ र १४ पुस बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म बन्दसूची पेश गर्नुपर्नेछ । आयोगले दर्ता र आवश्यक प्रक्रियाको प्रमाणीकरण पूरा गरी २० माघ बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म बन्दसूची अन्तिम रूपमा प्रकाशन गर्ने योजना जनाएको छ ।
स्वीकृत निर्वाचन कार्यक्रमअनुसार समानुपातिक प्रणालीअन्तर्गतको मतदान २१ फागुन बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म सम्बन्धित मतदान केन्द्रमा एकै चरणमा सम्पन्नगरिनेछ ।
आयोगले निर्धारित मितिअनुसारका सबै गतिविधि दल तथा सरोकारवालाहरूको सक्रिय समन्वयमा सफलतापूर्वक अघि बढाइने विश्वास व्यक्त गरेको छ ।