बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लर्डबुद्ध निकेतनका विद्यार्थीको शैक्षिक अवलोकन

Breaking Nepal

सोमबार ,मंसिर ८ , २०८२ १९:२४

विराटनगर / लर्डबुद्ध निकेतन विद्यालय, विराटनगर–२ दुर्गा चौकका कक्षा ९ र १० का करिब ५० जना विद्यार्थीले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (बीपीकेआईएचएस) मा शैक्षिक अवलोकन भ्रमण सम्पन्न गरेका छन् ।

विद्यार्थी टोलीले प्रतिष्ठानका भित्री तथा बाहिरी संरचना, अस्पतालको सञ्चालन पद्धति, आपत्कालीन सेवा व्यवस्थापन, प्रयोगशाला प्रक्रिया तथा उपचार विधिबारे प्रत्यक्ष अध्ययन गरेका थिए । प्रतिष्ठानमा सञ्चालन हुने शैक्षिक कार्यक्रम, चिकित्सा शिक्षा प्रणाली तथा चिकित्सक–विद्यार्थीको कार्यशैलीबारे समेत विस्तृत जानकारी लिने अवसर पाएको विद्यालयले जनाएको छ ।भ्रमणमा सहभागी विद्यार्थीहरूले कक्षामा सिकेका सिद्धान्तलाई वास्तविक कार्यस्थलसँग तुलना गर्न पाएकोले बुझाइ अझ प्रष्ट बनेको प्रतिक्रिया दिएका छन् । उनीहरूका अनुसार प्रतिष्ठानको अवलोकनले स्वास्थ्य क्षेत्रबारे रुचि र जिज्ञासा थपिएको छ भने भविष्यमा चिकित्सा क्षेत्रमा करिअर निर्माण गर्ने प्रेरणा समेत मिलेको छ ।विद्यालय प्रशासनले यस्ता अध्ययन–अवलोकन कार्यक्रमले विद्यार्थीको सीप, अनुभव र व्यवहारिक ज्ञान अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याउने जनाएको छ। “पाठ्यपुस्तकमै सीमित नभई बाह्य ज्ञान र प्रत्यक्ष अध्ययनले विद्यार्थीको समग्र विकासलाई मजबुत बनाउँछ,” विद्यालयले जारी गरिएको जानकारीमा उल्लेख छ ।लर्डबुद्ध निकेतन विद्यालयले आगामी दिनमा पनि विद्यार्थी केन्द्रित शैक्षिक भ्रमण, अभिमुखीकरण तथा अनुभवात्मक सिकाइका कार्यक्रम निरन्तर सञ्चालन गर्दै जाने प्रतिबद्धता जनाएको छ ।