Breaking Nepal

थाइल्यान्ड / थाइल्यान्डमा अन्त्येष्टिका लागि बौद्ध मन्दिरमा ल्याइएकी एक महिलाले कफिनभित्रै हात–टाउको हल्लाएपछि मन्दिरमा उपस्थित सबै आश्चर्यचकित बनेका छन् । बैंकक नजिकैको नोन्थबुरी प्रान्तस्थित वाटरात प्राखोङ थाम मन्दिरमा भएको यो घटनाको भिडियो सामाजिक सञ्जालमा छ्याप्छ्याप्ती फैलिएको छ ।
फेसबुकमा सार्वजनिक गरिएको भिडियोमा पिकअप ट्रकमा राखिएको कफिनभित्रबाट ६५ वर्षीया महिलाले अचानक निहुरिँदै हात चलाएको देखिन्छ । अप्रत्याशित रुपमा देखिएको हलचलपछि मन्दिरका कर्मचारीहरू एकछिन आतंकित भएका थिए ।
मन्दिरका सामान्य तथा वित्तीय प्रशासन प्रमुख पाइराट सुधथुपका अनुसार महिलालाई परिवारले अन्त्येष्टिका तयारीका लागि मन्दिर ल्याएको थियो । “कफिन भित्रबाट हल्का धकधकिएको आवाज आएपछि मैले तुरुन्तै खोल्न भनेँ। कफिन खुल्नेबित्तिकै उनी आँखाको पलक चलाउँदै कफिनको छेउमा ढक्ढकाइरहेको देखेँ,” सुधथुपले एपीसँग भने ।
पीडितका दाइका अनुसार ती महिला दुई वर्षदेखि गम्भीर बिरामी थिइन् र ओछ्यानमै थिए। अन्तिम दुई दिनदेखि कुनै प्रतिक्रिया नदेखिएपछि उनलाई मृत ठानी परिवारले अंगदानका लागि अस्पतालसमेत लगेका थिए । तर मृत्यु प्रमाणपत्र नहुँदा अस्पतालले प्रक्रिया अघि बढाउन मानेन ।
त्यसपछि परिवारले निःशुल्क अन्त्येष्टि हुने मन्दिरमा पु-याए पनि प्रमाणपत्र अभावले अन्त्येष्टि स्थगित भयो । व्यवस्थापकले प्रमाणपत्र प्रक्रियाबारे बुझाइरहेका बेला नै कफिनभित्रबाट आवाज आएपछि घटना खुलासा भएको हो ।
हाल महिलालाई तत्काल उपचारका लागि अस्पताल पठाइएको छ । मन्दिर प्रशासनले उपचार खर्चसमेत वहन गर्ने जनाएको छ ।
(समाचार एजेन्सीको सहयोगमा)