Breaking Nepal

काठमाडौं / बंगलादेशकी अपदस्थ पूर्वप्रधानमन्त्री शेख हसिनालाई अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले सुनाएको मृत्युदण्डको सजायको विरोधमा उनका समर्थकहरूले देशभर आक्रामक प्रतिरोध आन्दोलनको घोषणा गरेका छन् ।
हसिनाको पार्टी अवामी लिगले मंगलबार विज्ञप्ति जारी गर्दै नोभेम्बर २५ देखि ३० सम्म देशव्यापी विरोध प्रदर्शन, प्रतिरोध मार्च र राजनीतिक दबाबका कार्यक्रम सञ्चालन गर्ने जनाएको छ। पार्टीले न्यायाधिकरणको फैसलालाई “अवैध संरचनाबाट आएको अवैध फैसला” भन्दै यसलाई “सुनियोजित राजनीतिक षड्यन्त्रको हिस्सा” बताएको छ ।
अनुपस्थितिमै सजाय, भारतमै रहेको आशंका
नोभेम्बर १७ मा न्यायाधिकरणले ७८ वर्षीया हसिना र पूर्वगृहमन्त्री असदुज्जामान खान कमाललाई मानवताविरुद्धको अपराधको अभियोगमा फाँसीको सजाय सुनाएको थियो । दुवै जनाको मुद्दा उनीहरू अनुपस्थित रहँदै चलाइएको थियो। हसिना भारतमा बसोबास गरिरहेको बताइन्छ भने कमाल पनि त्यहीँ लुकेको आशंका छ ।
विद्यार्थी नेतृत्वको विद्रोहले ढलेको थियो सरकार
गत वर्ष ‘जुलाई विद्रोह’ नाम दिइएको हिंसात्मक आन्दोलनमा अवामी लिग सरकार पतन भएपछि हसिना देश छोडेर निस्किएकी थिइन् । जुलाई १५ देखि अगस्ट १५ सम्म चलेको अराजक प्रदर्शनमा करिब १,४०० जनाको ज्यान गएको बताइन्छ, जसले बंगलादेशको राजनीतिक परिदृश्यलाई नै उलट-पुलट बनाइदिएको थियो ।
अवामी लिगले घोषणा गरेको नयाँ प्रतिरोध अभियानले बंगलादेशको राजनीतिक तनाव झनै चर्किने संकेत देखिएको विश्लेषकहरूको भनाइ छ ।