Breaking Nepal

काठमाडौं / कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बुधबार भएको नेपाल प्रिमियर लिग (एनपीएल) को रोमाञ्चक भिडन्तमा चितवन राइनोजले विराटनगर किंग्सलाई ४८ रनले पराजित गर्दै लिगमा दोस्रो जित दर्ता गरेको छ । रञ्जित कुमारको घातक बलिङ प्रदर्शन चितवनको जितको मुख्य आधार बन्यो ।
१७५ रनको चुनौतीसहित मैदान उत्रिएको विराटनगर १६.५ ओभरमै १२६ रनमा आलआउट भएपछि अपराजित यात्रामा ब्रेक लागेको हो । किंग्सका ब्याटरहरू चितवनका बलरहरूको निरन्तर दबाबमा चलेका थिए ।
चितवनका रञ्जितले चार ओभरमा मात्र २१ रन खर्चिँदै पाँच विकेट लिए । कमलसिंह ऐरीले दुई विकेट थपे भने कुशल मल्ल, सैब जैब र साहेल तान्विरले एक–एक विकेट झारे ।
विराटनगरका लागि मर्चेन्ट डे लिंग (३९), प्रतिश जिसी (३०) र साम हेजलेट (२२) बाहेक अन्य ब्याटर दोहोरो अंक पार गर्न नसक्दा लक्ष्य टाढा बन्यो ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चितवनले २० ओभरमा पाँच विकेट गुमाउँदै १७४ रनको उत्कृष्ट योगफल बनाएको थियो । विदेशी स्टार बोपाराले लगातार तेस्रो अर्धशतक प्रहार गर्दै ३८ बलमा ६५ रन जोडे । उनले तीन चौका र चार छक्का प्रहार गरेका थिए ।
बोपाराले सैब जैबसँग ४९ रनको साझेदारी गर्दै सुरुवाती दबाब हटाए । दोस्रो चरणमा पाँचौँ विकेटका लागि ५६ रनको साझेदारी बनेपछि चितवनले बलियो स्कोर तयार पारेको हो ।
जैबले ३२ रन, कप्तान कुशल मल्लले २० रन, देव खनालले २८ रन र डेविड मलानले १७ रन जोडे ।
विराटनगरका कप्तान सन्दीप लामिछाने र मर्चेन्ट डे लिङ्ले दुई–दुई विकेट लिए भने सुभव रन्जानले एक विकेट निकाले ।
यस हारसँगै विराटनगरको विजयी श्रृंखला समाप्त भएको छ । यसअघि किंग्सले पोखरा एभेन्जर्स, काठमाण्डू गोर्खाज र जनकपुर बोल्ट्सलाई पराजित गर्दै तीन खेलमै उत्कृष्ठ लय बनाएको थियो ।
चितवनले भने यसअघि कर्णाली याक्सविरुद्ध जित निकालेपनि लुम्बिनी लायन्ससँग पराजित भएको थियो । आजको विजयसँगै टोली फेरि प्रतियोगितामा बलियो प्रतिद्वन्द्वीका रूपमा उभिएको छ ।