पदभार ग्रहण गर्दै कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी घिमिरेले के भने ?

Breaking Nepal

बिहीबार ,मंसिर ११ , २०८२ २०:३५

विराटनगर / कोशी प्रदेश प्रमुखका रुपमा आउन चाहने आधा दर्जन प्रहरी नायव महानिरीक्षक डीआईजीलाई पछि पारेर आएका डीआईजी विनोद घिमिरेले सोमबार औपचारिक रूपमा पदभार ग्रहण गरेका छन् । गृह मन्त्रालयको मंसिर ८ गतेको निर्णयअनुसार कोशी प्रदेश कार्यालय विराटनगरमा सरुवा भएका डीआइजी घिमिरेले पदभार ग्रहण गर्दै नयाँ जिम्मेवारीमा आफ्नो दृष्टिकोण प्रस्तुत गरेका छन् ।

सो अवसरमा कार्यालयको सभाहलमा उपस्थित कर्मचारीहरूसँगै भर्चुअल माध्यमबाट जिल्ला प्रहरी प्रमुख र मुद्दा चल्ने इकाई प्रमुखलाई समेत निर्देशन दिएका डीआइजी घिमिरेले संगठनको गरिमा उच्च राख्न र समन्वयमा आधारित काम गर्ने आवश्यकतामा जोड दिएका छन् ।

डीआइजी घिमिरेले भने, ‘प्रहरी बिना समाजको कल्पना गर्न सकिँदैन। बदलिँदो समय र प्रविधिसँग आफूलाई सक्षम बनाएर, सामूहिकता र भातृत्वको भावना कायम राख्दै जनसेवामा केन्द्रित रहनु हाम्रो पहिलो प्राथमिकता हुनुपर्छ ।’

उनीसँगै कार्यालयले कडा कार्यवाही र तुरुन्त पुरस्कार दिने नीति पनि अघि सारेको छ । ‘कानुनविपरीत गतिविधिमा संलग्न जो कोहीलाई कडाभन्दा कडा कारबाही गरिनेछ,’ डीआइजी घिमिरेले स्पष्ट पार्दै भने, ‘राम्रो काम गर्ने प्रहरीलाई तुरुन्त पुरस्कृत गरिनेछ ।’

उनका अनुसार, कोशी प्रदेश प्रहरी अब अपराध नियन्त्रण, शान्ति–सुरक्षा, जनविश्वास अभिवृद्धि र प्रविधिमैत्री सेवा प्रवाहमा अझ सक्रिय, आक्रामक र परिणाममुखी बन्नेछ।
प्रदेश प्रहरी प्रमुखका रुपमा डीआइजी जयराज सापकोटालगायत आउन चाहेका थिए । तर गृहमन्त्री र एआईजीको विश्वास जितेर आएका घिमिरेका लागि निर्वाचन गराउनु मुख्य चुनौती रहेको छ । उनी यसअघि प्रहरीको केन्द्रीय प्रवक्ताको जिम्मेवारीमा थिए ।