Breaking Nepal

काठमाडौं / महाधिवेशनको विषयलाई लिएर नेपाली कांग्रेसभित्रको कलह सतहमा देखिएको छ । विशेष महाधिवेशनको माग उठाइरहेको समूहले कार्यवाहक सभापति पूर्णबहादुर खड्काले राखेको वार्ता प्रस्ताव अस्वीकार गरेको छ । खड्काले शनिबार बिहान साढे आठ बजे फोनमार्फत वार्तामा बस्न आग्रह गरे पनि उक्त समूहले “पहिले औपचारिक पत्राचार” आवश्यक ठानेर वार्ता नभएको स्पष्ट गरेको हो ।
विशेष महाधिवेशन पक्षले २ हजार ४८८ महाधिवेशन प्रतिनिधिको हस्ताक्षरसहित पार्टी कार्यालयमा औपचारिक पत्र दर्ता गराइसकेको छ । सो पत्रमा विशेष महाधिवेशन बोलाउनुपर्ने माग राखिएको छ । अभियन्ता गुरुराज घिमिरेका अनुसार औपचारिक रूपमा दर्ता भएको प्रस्तावमाथि पार्टी नेतृत्वबाट लिखित प्रतिक्रिया नआएसम्म अनौपचारिक वार्तामा बस्नु उपयुक्त नठानेर निर्णय गरिएको हो ।
“दर्ता भएको प्रस्ताव औपचारिक प्रकृतिको हो । त्यसकारण प्रस्तावकहरूसँग पनि पार्टीले औपचारिक व्यवहार गर्नुपर्छ,” घिमिरेले बताए । उनका अनुसार खड्काको फोन आएपछि समूहभित्र गरिएको छलफलले ‘अनौपचारिक वार्ता नजाने’ निष्कर्ष निकालेको हो ।
विशेष महाधिवेशन पक्षधरहरू विधानअनुसार अघि बढिनुपर्ने र औपचारिक प्रक्रिया पूरा गरेर मात्र संवाद सम्भव हुने अडानमा उभिएका छन्। यसबीच, नेतृत्व पक्षले भने पार्टीभित्र देखा परेका असन्तुष्टि संवादमार्फत नै समाधान गर्न सकिने संकेत दिँदै आएको छ ।