मधेशमा नयाँ सत्ता समीकरण : कांग्रेसका कृष्णप्रसाद यादव मुख्यमन्त्री नियुक्त

Breaking Nepal

शुक्रबार ,मंसिर १९ , २०८२ १८:२०

जनकपुरधाम / मधेश प्रदेशमा लामो राजनीतिक रस्साकस्सीपछि नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव नयाँ मुख्यमन्त्री बनेका छन् । प्रदेश प्रमुख डा. सुरेन्द्र लाभले संविधानको धारा १६८(२) अनुसार यादवलाई शनिबार मुख्यमन्त्री नियुक्त गर्दै सरकार गठनको प्रक्रिया पूरा भएको घोषणा गरेका हुन् ।

७ दलीय गठबन्धनको समर्थन
यादवलाई कांग्रेस, जनता समाजवादी पार्टी (जसपा), नेपाल जनमत पार्टी, नेकपा (माओवादी केन्द्र), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), एकीकृत समाजवादीसहित सात राजनीतिक दलका ७७ जना सांसदको औपचारिक समर्थन छ । प्रदेशसभामा स्थिर सरकार निर्माणका लागि दलहरूबीच भएको सहमतिको उपजका रूपमा उनी सत्ता नेतृत्वमा पुगेका हुन् ।

पूर्व मुख्यमन्त्रीको राजीनामापछि नयाँ शक्ति समायोजन
नेकपा एमालेका संसदीय दलका नेता सरोज कुमार यादव गत मंसिर १७ गते पदत्याग गरेसँगै मधेशमा सत्ता समीकरण फेरबदल हुन थालेको थियो । संविधानको धारा १६८(३) अनुसार ठूलो दलको उपनेता हैसियतमा उनी कार्तिक २३ गते राति मुख्यमन्त्री नियुक्त भएका थिए। तर सात दलीय गठबन्धनले उक्त नियुक्ति संविधानविपरीत भएको दाबी गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

तीनवटा अलग–अलग रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले मंसिर १५ गते तत्कालीन सरकारले २४ घण्टाभित्र विश्वासको मत लिनुपर्ने र विश्वासको मत प्राप्त गर्न असफल भएमा धारा १६८(२) बमोजिम नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्ने परमादेश जारी गरेको थियो। सो आदेशपछि प्रदेश प्रमुखको कार्यालयले नयाँ दाबी पेस गर्न आह्वान गरेको थियो, जसको परिणामस्वरूप यादव नेतृत्वमा नयाँ सत्ता संयोजन बनेको हो ।

अबको चुनौती : स्थिरता र प्रभावकारी शासन
मुख्यमन्त्री नियुक्त भएका यादवले प्रदेशमा राजनीतिक स्थिरता, सुशासन र सेवा प्रवाहलाई प्राथमिकता दिने संकेत गरेका छन् । मधेशमा बारम्बार बदलिने सत्ता समीकरणका कारण विकास तथा प्रशासनिक काम प्रभावित हुँदै आएको अवस्थालाई सुधार्न गठबन्धन दृढ रहेको बताइएको छ ।

सात दलीय सहकार्य कति समय टिक्छ र प्रदेश सरकारले विकास–प्रशासनमा कस्तो कार्यक्षमता देखाउँछ भन्ने कुराले आगामी राजनीतिक दिशा निर्धारण गर्ने विश्लेषकहरूको मत छ ।