रास्वपाको समानुपातिक उम्मेदवार छनोट अन्तिम चरणमा, पुस १४ भित्र बन्दसूची आयोगमा बुझाउने तयारी

Breaking Nepal

मंगलबार ,पुष ८ , २०८२ १६:०८

काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिकतर्फको उम्मेदवार छनोट प्रक्रिया अन्तिम चरणमा पुर्‍याएको छ । पार्टीले सातै प्रदेशका समानुपातिक उम्मेदवार आकांक्षीसँग छलफल सम्पन्न गर्दै बन्दसूची तयार पार्ने तयारी तीव्र बनाएको हो ।

रास्वपाका अनुसार समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत प्रारम्भिक छनोट प्रक्रियामा परेका ३५३ जना आकांक्षीसँग प्रदेशगत रूपमा छलफल गरिएको छ । छलफलमा सहभागी हुन नपुगेका उम्मेदवारसँग मंगलबार थप परामर्श गर्ने कार्यसमेत अघि बढाइएको पार्टीले जनाएको छ ।

निर्वाचन आयोगको कार्यतालिकाअनुसार समानुपातिक उम्मेदवारको बन्दसूची पुस १४ गतेभित्र बुझाउनुपर्ने भएकाले पार्टी नेतृत्व सूची टुंग्याउने प्रक्रियामा केन्द्रित भएको छ । पार्टीभित्र आन्तरिक मूल्यांकन, समावेशिता र क्षेत्रीय सन्तुलनका आधारमा सूची तयार गरिने बताइएको छ ।

उम्मेदवार छनोट समितिका संयोजक विपीनकुमार आचार्यले सबै प्रदेशमा छलफल सम्पन्न भइसकेको जानकारी दिँदै बाँकी उम्मेदवारसँगको संवादपछि अन्तिम सूची तय गरिने बताए । “छलफलको चरण लगभग सकिएको छ । अब प्राप्त सुझाव र मूल्यांकनका आधारमा सूचीलाई अन्तिम रूप दिने तयारीमा छौँ,” उनले भने ।

रास्वपाले समानुपातिकतर्फको उम्मेदवार छनोटलाई पारदर्शी र प्रतिस्पर्धात्मक बनाउने दाबी गर्दै आएको छ । पार्टीले यसपटक नयाँ अनुहार र पेशागत विविधतालाई प्राथमिकता दिने संकेत पनि दिएको छ ।