Breaking Nepal

विराटनगर / विराटनगरस्थित विराट नर्सिङ होमले आफ्नो उपचार सेवामा विस्तार गर्दै अत्याधुनिक ‘क्याथ ल्याब’ औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ। कार्डियाक, न्यूरो तथा भास्कुलर इन्टरभेन्सनसम्बन्धी जटिल रोगहरूको उपचारलाई छिटो, सुरक्षित र प्रभावकारी बनाउने उद्देश्यका साथ ल्याइएको यो सेवा आइतबार एक कार्यक्रमबीच सुरु गरिएको हो।
सेवाको उद्घाटन गर्दै इनभोलुसन हेल्थकेयर प्रालिका निर्देशक अतुल शर्माले हृदयाघात र स्ट्रोकजस्ता आपतकालीन अवस्थाहरूमा समयमै उपचार नपाउँदा ज्यान जाने जोखिम उच्च हुने उल्लेख गर्दै त्यसलाई न्यूनीकरण गर्न अत्याधुनिक प्रविधि भित्र्याइएको बताए। उनका अनुसार क्याथ ल्याब सञ्चालनमा आएपछि विराटनगरसहित नेपाल–भारत सीमावर्ती क्षेत्रका नागरिकलाई उन्नत उपचार सहज रूपमा उपलब्ध हुनेछ।
हस्पिटलले कोशी र मधेश प्रदेशमै पहिलोपटक एउटै छानामुनि कार्डियाक, न्यूरो र इन्टरभेन्सनल रेडियोलोजीका तीनै विशेषज्ञ सेवा उपलब्ध गराएको दाबी गरेको छ। यहाँ जडान गरिएको ‘प्रिमियर एलिट क्याथ ल्याब’ कम विकिरणमा आधारित प्रविधियुक्त रहेको र यसले उपचार प्रक्रिया छिटो तथा सुरक्षित रूपमा सम्पन्न गर्ने हस्पिटलको भनाइ छ।
हस्पिटलका सिइओ डा. निकिता कार्कीका अनुसार नेपाल तथा भारतका प्रतिष्ठित स्वास्थ्य संस्थाबाट तालिम प्राप्त वरिष्ठ इन्टरभेन्सनल विशेषज्ञहरूद्वारा २४ सै घण्टा सेवा प्रदान गरिनेछ। आकस्मिक सेवाअन्तर्गत एमडीजीपी चिकित्सक, दक्ष क्रिटिकल केयर टिम, प्रमाणित नर्स तथा १५ शैयाको एडभान्स सीसीयू सुविधा पनि उपलब्ध छ। मुटुरोग तथा अन्य आकस्मिक लक्षण देखिएमा ढिलाइ नगरी जाँच गराउन हस्पिटलले आग्रह गरेको छ।
क्याथ ल्याब सञ्चालनको अवसरमा हस्पिटलले सीमित अवधिका लागि सहुलियतसमेत घोषणा गरेको थियो। प्राथमिकताका आधारमा पहिलो २० बिरामीलाई क्याथ ल्याबअन्तर्गतका सम्पूर्ण प्रक्रिया निःशुल्क उपलब्ध गराउने घोषणाअनुसार १९ जनाले सुविधा लिएको हस्पिटल प्रशासनले जनाएको छ। साथै सीसीयू शुल्क र निदान सेवामा ५० प्रतिशत छुटको व्यवस्था पनि गरिएको थियो।
नयाँ सेवाले पूर्वी नेपालका बिरामीलाई राजधानी धाउनुपर्ने बाध्यता घटाउने र छिमेकी देशका बिरामीका लागि पनि उपचार पहुँच सहज बनाउने अपेक्षा गरिएको छ।