मोरङको कटहरीमा जाडो राहत अभियान, ५१ विपन्न र ज्येष्ठ नागरिकलाई कम्बल वितरण

Breaking Nepal

pen
कपलेश यादव
मंगलबार ,पुष २२ , २०८२ १३:३०

विराटनगर / मोरङको कटहरी गाउँपालिका–२ मा कठोर जाडोयामबाट प्रभावित विपन्न तथा ज्येष्ठ नागरिकलाई लक्षित गर्दै न्यानो कम्बल वितरण गरिएको छ । सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै नेपाली कांग्रेसका युवा नेता सञ्जय मण्डलको पहलमा आयोजित कार्यक्रममा ५१ जनालाई कम्बल प्रदान गरिएको हो ।

विराटनगर निवासी समाजसेवी विनोदकुमार गुप्ताको सहयोगमा ५१ थान कम्बल उपलब्ध गराइएको आयोजकले जनाएको छ । जाडोयामको तीव्रता बढ्दै जाँदा दैनिक जीवनमा कठिनाइ भोगिरहेका असहाय, विपन्न र ज्येष्ठ नागरिकलाई प्राथमिकताका साथ राहत उपलब्ध गराइएको मण्डलले बताए ।

कार्यक्रममा स्थानीय जनप्रतिनिधि, समाजसेवी, समुदायका अगुवा तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो । कम्बल प्राप्त गर्ने एक ज्येष्ठ नागरिकले यस सहयोगले जाडो कटाउन सहज भएको भन्दै राहतप्रति कृतज्ञता व्यक्त गरे ।

कार्यक्रमका संयोजक सञ्जयकुमार मण्डलले समुदायसँग सहकार्य गर्दै आवश्यक परेका स्थानमा निरन्तर साथ दिने प्रतिबद्धता व्यक्त गरे । समाजबाट प्राप्त विश्वास र सहयोगप्रति आभार प्रकट गर्दै उनले आगामी दिनमा पनि शिक्षा, स्वास्थ्य, राहत तथा सामाजिक सचेतनाका कार्यक्रम सञ्चालन गर्ने योजना रहेको जानकारी दिए ।

स्थानीयवासीका अनुसार मानवीय सेवामा आधारित यस्ता पहलले जाडोबाट प्रभावित नागरिकलाई प्रत्यक्ष राहत पुर्‍याउनुका साथै समाजमा सकारात्मक सन्देश प्रवाह गर्न मद्दत पुगेको छ ।