विराटनगरमा १६ वर्षीया किशोरी बन्धक बनाएर याैन शोषण, गजल सञ्चालकसहित दुईजना पक्राउ

Breaking Nepal

बुधबार ,पुष २३ , २०८२ १६:३७

विराटनगर / सांस्कृतिक मनोरञ्जनको आडमा सञ्चालन भइरहेका गजल रेस्टुरेन्टमा १६ वर्षीया किशोरीलाई बन्धक बनाई जबर्जस्ती यौन कार्यमा लगाएको आरोपमा प्रहरीले दुईजनालाई नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेहरूमा विराटनगर–१२ का ३३ वर्षीय गजल सञ्चालक परशुराम कामत र विराटनगर–८ का २६ वर्षीय कर्मचारी मनिष ठाकुर रहेका छन् । झापाकी ती किशोरीलाई विगत पाँच महिनादेखि ‘कामको अवसर’को बहानामा रेस्टुरेन्टमा राखेर भारतीय ग्राहकहरूसँग यौनसम्पर्कमा बाध्य पारिएको प्रहरी अनुसन्धानले पुष्टि गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङकी प्रवक्ता डिएसपी कोपिला चुडालले जानकारी दिइन् । सोमबार पनि किशोरीलाई होटलको एउटा कोठामा थुनेर बन्धक बनाइएको थियो । पीडित किशोरीले प्रहरीलाई सूचना दिएपछि वडा प्रहरी र बखरी प्रहरीको टोलीले दिउँसो ३ बजे छापा मारेर उनलाई उद्धार गरेको छ ।

पक्राउ परेकामाथि मानव बेचबिखन, ओसारपसार र शरीर बन्धक बनाउने कसुरमा अदालतबाट म्याद थप गरी विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले विराटनगरका अन्य गजल र खाजा घरहरूमा पनि यस्ता अवैध गतिविधि हुन सक्ने आशंकामा निगरानी बढाएको छ ।

सो घटनाले स्थानीय समाजमा आक्रोश उत्पन्न भएको छ । प्रशासन र प्रहरीले किशोरीहरूको सुरक्षा सुनिश्चित गर्न कडा कदम चाल्ने प्रतिबद्धता जनाएका छन् ।