Breaking Nepal

विराटनगर / विराटनगर–१२ स्थित सामुदायिक भवनमा विराटनगर महानगरपालिकाको आयोजना तथा कृषि तथा पशुपंक्षी शाखाको समन्वयमा रासायनिक मल व्यवसायी र कृषकबीच एकदिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत योगेन्द्रप्रसाद दुलाल प्रमुख अतिथिका रूपमा उपस्थित रहेका थिए । प्रमुख अतिथि दुलालले कार्यक्रमले कृषक र विक्रेताबीचको ज्ञान आदानप्रदानलाई सहज बनाउने र दुवै पक्षका लागि व्यवसायिक फाइदा मिल्ने बताए ।
कार्यक्रममा साल्ट ट्रेनिङका प्रमुख राधेश्याम चौधरी र कृषि सामग्री केन्द्रका प्रमुख कमल पोखरेलले रासायनिक मलको प्रयोग, नियम–विधान र प्रचलित चुनौतीबारे सहभागीहरूलाई विस्तृत जानकारी दिए। सहभागी कृषक र विक्रेता बीच प्रत्यक्ष अन्तरक्रिया र प्रश्न–उत्तर सत्र पनि सञ्चालन गरिएको थियो ।
वडा नम्बर १२ का वडाध्यक्ष हिरालाल कामतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा करिब ३५ जना कृषक र मल विक्रेताको सहभागिता रहेको कृषि तथा पशुपंक्षी शाखाका संयोजक हिरालाल यादवले जानकारी दिएका छन्। यादवका अनुसार यस्तो अन्तरक्रियाले कृषकको मल सम्बन्धी ज्ञान वृद्धि गर्नुका साथै बजारमा व्यावसायिक व्यवहार सुधारमा पनि मद्दत पुग्ने अपेक्षा गरिएको छ।
कार्यक्रम अन्तर्गत कृषक र विक्रेताबीच अनुभव आदानप्रदान, समस्या समाधानको उपाय र गुणस्तरीय मल उपलब्ध गराउने पहलबारे चर्चा गरिएको थियो। महानगरपालिकाले आगामी दिनमा यस्ता अन्तरक्रियात्मक कार्यक्रमलाई नियमित रुपमा सञ्चालन गर्ने योजना बनाएको छ।