ज्येष्ठ नागरिक वडा समितिको साधारणसभामा योगदानकर्तालाई सम्मान र पुरस्कार प्रदान

Breaking Nepal

शनिबार ,पुष २६ , २०८२ १४:०४

विराटनगर / विराटनगर–११ मा रहेको ज्येष्ठ नागरिक वडा कार्यसमिति (योग ध्यान केन्द्र)ले विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएका व्यक्तित्वलाई सम्मान गरेको छ । समितिको पाँचौँ वार्षिक साधारणसभाको अवसरमा सामाजिक, सांस्कृतिक तथा वातावरण संरक्षणमा सक्रिय व्यक्तिहरूलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको हो ।

प्रकृति र वातावरण संरक्षण अभियानमा सक्रिय भूमिका निर्वाह गरेबापत हरियाली विराटनगर अभियानकी अभियन्ता पारुल क्षेत्रीलाई ‘इन्द्र–गगनकान्त ज्येष्ठ नागरिक पुरस्कार’ प्रदान गरिएको छ । पुरस्कार हाल अमेरिकामा बसोबास गरिरहेका स्थानीय वडावासी नगेन्द्रमणि न्यौपाने र विन्द्या न्यौपानेले आफ्ना आमा–बुवाको स्मृतिमा स्थापना गरेका हुन् ।

सम्मान कार्यक्रमका प्रमुख अतिथि विराटनगर वडा नम्बर ११ का अध्यक्ष तीर्थेन्द्र नेउपाने, समितिका अध्यक्ष अर्जुन भट्टराई र वरिष्ठ उपाध्यक्ष यादनरसिंह कार्कीले क्षेत्रीलाई दोसल्ला ओढाई नगद १० हजार रुपैयाँ र सम्मानपत्र प्रदान गरे ।

त्यसैगरी योग साधनामा सक्रिय भवगती पोखरेल कोइराला, समितिद्वारा सञ्चालित दिवा कार्यक्रममा नियमित सहभागी भई भजन प्रस्तुत गर्ने ज्येष्ठ नागरिक लीला खनाल, नरप्रसाद दंगाल र मोहनकृष्ण ताम्राकारलाई पनि सम्मान गरिएको छ । सम्मानित नरप्रसाद दंगालले समितिको भवन विस्तारका लागि १६ हजार रुपैयाँ नगद सहयोगसमेत प्रदान गरेका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष नेउपानेले ज्येष्ठ नागरिकका अनुभव, ज्ञान र सीप समाजका लागि अमूल्य भएको उल्लेख गर्दै त्यसको पुस्तान्तरण आवश्यक रहेको बताए । उनले वडा र महानगर ज्येष्ठ नागरिकको हितमा सदैव साथमा रहने प्रतिबद्धता व्यक्त गरे ।

साधारणसभामा ज्येष्ठ नागरिक मञ्च मोरङका उपाध्यक्ष डिल्ली पोखरेल, मानवअधिकारकर्मी सुबोधराज प्याकुरेल, प्रेस युनियन कोशी प्रदेश अध्यक्ष मीनकुमार नवोदितलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

सभाले अध्यक्ष अर्जुन भट्टराई र कोषाध्यक्ष भरत कार्कीले प्रस्तुत गरेको सांगठानिक तथा आर्थिक प्रतिवेदन सर्वसम्मत रूपमा पारित गरेको सचिव इन्द्र खतिवडाले जानकारी दिए ।