माघ १ देखि नगद कारोबारमा कडाइ, पाँच लाख नाघे बैंकिङ माध्यम अनिवार्य

Breaking Nepal

शनिबार ,पुष २६ , २०८२ १४:४१

काठमाडौं / आगामी माघ १ गतेदेखि नगद कारोबारको सीमा घटाएर पाँच लाख रुपैयाँमा सीमित हुने भएको छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका लागि जारी गरेको एकीकृत निर्देशनमार्फत उक्त व्यवस्था लागू गर्न लागेको हो ।

नयाँ व्यवस्थाअनुसार पाँच लाख रुपैयाँभन्दा बढीको कुनै पनि भुक्तानी गर्दा नगद प्रयोग गर्न नपाइनेछ । यस्तो भुक्तानी अनिवार्य रूपमा एकाउन्टपेयी चेकमार्फत वा सम्बन्धित व्यक्तिको बैंक खातामा जम्मा गर्नुपर्नेछ । फर्म, कम्पनी, संस्था वा कार्यालयको नाममा काटिने चेकसमेत एकाउन्टपेयी हुनुपर्ने व्यवस्था गरिएको छ ।

राष्ट्र बैंकका अनुसार भने प्राथमिकताप्राप्त पूर्वाधार आयोजना, जलविद्युत्, सडक, सञ्चारलगायत क्षेत्रमा कार्यरत कर्मचारी तथा श्रमिकलाई पारिश्रमिक र ज्याला भुक्तानी गर्दा समस्या नआउनेछ । यस्तै, विभिन्न आयोजनाका लागि आवश्यक सामग्री आपूर्ति, सरकारलाई बुझाउनुपर्ने राजस्व भुक्तानी, बिगो, धरौटी तथा जमानत रकम जम्मा गर्ने कार्यमा पनि नगद कारोबारमा अवरोध नहुने स्पष्ट पारिएको छ ।

पेन्सन क्याम्पमार्फत हुने पेन्सन वितरण, सरकारले उपलब्ध गराउने राहत, अनुदान तथा सहायता वितरण, साथै विप्रेषण कम्पनी तथा एजेन्टमार्फत प्राप्त हुने विप्रेषण रकम भुक्तानीमा समेत नयाँ व्यवस्थाले असर नगर्ने केन्द्रीय बैंकको भनाइ छ ।

बचत तथा ऋण सहकारी संस्थाले भने आफ्ना सदस्यसँगको दैनिक कारोबार नगदमै गर्न सक्ने छुट पाउनेछन् । सरकारले यसअघि नै गत मङ्सिर १५ गते नगद कारोबारको सीमा पाँच लाख रुपैयाँमा झार्ने निर्णय गरिसकेको थियो । सोसम्बन्धी सूचना अर्थ मन्त्रालयले बिहीबार राजपत्रमा प्रकाशित गरिसकेको छ ।

नगद कारोबारमा कडाइ गर्दै बैंकिङ प्रणालीलाई प्रवर्द्धन गर्ने तथा वित्तीय पारदर्शिता बढाउने उद्देश्यसहित यो व्यवस्था लागू गर्न लागिएको जनाइएको छ ।