Breaking Nepal

काठमाडौं / राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०४औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । विसं १७७९ मा जन्मिएका शाहको योगदानको स्मरण गर्दै राजधानीदेखि उनकाे जन्मस्थल गोरखासम्म विशेष कार्यक्रम तय गरिएका छन् ।
आधुनिक नेपालको एकीकरण अभियानका अगुवा पृथ्वीनारायण शाहप्रति श्रद्धाञ्जली अर्पण गर्न आज सिंहदरबार पश्चिम ढोकाअगाडि रहेको उनको सालिकमा पुष्पहार अर्पण गरिएको छ । प्रत्येक वर्षझैँ यस वर्ष पनि राज्यका विभिन्न निकाय, सुरक्षा निकाय र राजनीतिक दलका प्रतिनिधिहरूले सालिकमा माल्यार्पण गर्दै सम्मान व्यक्त गरेका छन् ।
पृथ्वी जयन्तीका अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राजधानीमा चियापान कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा प्रधानमन्त्री, विभिन्न राजनीतिक दलका शीर्ष नेता, पूर्वप्रधानमन्त्री तथा समाजका विशिष्ट व्यक्तित्वहरूलाई आमन्त्रण गरिएको राप्रपाले जनाएको छ । शाहको जन्मस्थान गोरखामा पनि यस अवसरमा विशेष सांस्कृतिक तथा स्मृति कार्यक्रम सञ्चालन गरिएको छ ।
नेपाली सेनाले पनि परम्परागत रूपमा सैनिक मुख्यालय जङ्गीअड्डा परिसरमा अवस्थित पृथ्वीनारायण शाहको पूर्णकदको सालिकमा माल्यार्पण गरी राष्ट्रनिर्माताप्रति श्रद्धा व्यक्त गरेको छ । सेनाले राष्ट्रको स्वाधीनता र एकतामा शाहको योगदान ऐतिहासिक रहेको उल्लेख गरेको छ ।
तत्कालीन गोरखाका राजा पृथ्वीनारायण शाहले सामाजिक, आर्थिक र भौगोलिक चुनौतीबीच जनताको सक्रिय सहयोग र सहभागितामा छरिएर रहेका बाइसे–चौबीसे राज्यलाई एकीकरण गरेका थिए । २० वर्षको उमेरमा गद्दीआरोहण गरेका उनले आन्तरिक तथा बाह्य चुनौतीलाई परास्त गर्दै एकीकरण अभियान अघि बढाएका थिए । विसं १८३१ मा ५२ वर्षको उमेरमा उनको निधन भएको थियो ।
राष्ट्रिय एकता दिवसले साझा इतिहास, संस्कृति र पहिचानलाई स्मरण गराउँदै विविधताबीचको एकतालाई थप सबल बनाउने सन्देश दिने विश्वास लिइएको छ । व्यक्तिगत स्वार्थभन्दा माथि उठेर राष्ट्रहितलाई प्राथमिकता दिनु नै समावेशी र सशक्त राष्ट्र निर्माणको आधार भएको सन्देश यस दिवसले प्रवाह गर्ने अपेक्षा गरिएको छ । विशेषगरी युवापुस्तामा मातृभूमिप्रतिको समर्पण, सेवा र जिम्मेवारीको भावना विकास गराउन पृथ्वी जयन्तीको महत्व उल्लेखनीय मानिन्छ ।
शाहको एकीकरण अभियानका कारण नेपाल विश्वका पुराना स्वतन्त्र राष्ट्रमध्ये एकका रूपमा स्थापित हुन सफल भएको इतिहासकारहरूको भनाइ छ । उनका ‘घुस लिने र दिने दुवै राष्ट्रका शत्रु हुन्’ जस्ता दिव्योपदेश आज पनि सुशासन र भ्रष्टाचार नियन्त्रणका सन्दर्भमा उत्तिकै सान्दर्भिक देखिन्छन् । भूराजनीतिक अवस्थालाई संकेत गर्दै नेपाललाई ‘दुई ढुङ्गाबीचको तरुल’ भनेको उनका भनाइले आज पनि कूटनीतिक सन्तुलनको महत्व स्मरण गराउँछ ।
पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा उपराष्ट्रपति, सभामुख, विभिन्न राजनीतिक दलका नेता तथा राष्ट्रका विशिष्ट व्यक्तित्वहरूले शुभकामना सन्देश जारी गर्दै राष्ट्रिय एकता, स्वाधीनता र समृद्धिका लागि एकजुट हुन आह्वान गरेका छन् ।