दुई कार्यकालमै प्रधानमन्त्री सीमित गर्न कांग्रेस विशेष महाधिवेशनमा प्रस्ताव

Breaking Nepal

सोमबार ,पुष २८ , २०८२ १३:५६

काठमाडौं / नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले एउटै व्यक्ति दुई कार्यकालभन्दा बढी प्रधानमन्त्री बन्न नपाउने व्यवस्था संविधानमै समेटिनुपर्ने प्रस्ताव अघि सारेका छन् । पार्टीको विशेष महाधिवेशनअन्तर्गतको बन्दसत्रमा संगठनात्मक प्रतिवेदन प्रस्तुत गर्दै उनले विगतको अभ्यासले देश र पार्टी दुवैलाई क्षति पुगेको निष्कर्षसहित यस्तो प्रस्ताव गरिएको स्पष्ट पारे ।

महामन्त्री शर्माका अनुसार पछिल्लो डेढ दशकयता चुनाव भए पनि सरकार प्रमुख भने फेरिन नसक्ने अवस्था दोहोरिँदै आएको छ । यही प्रवृत्तिले राजनीतिक स्थिरता कमजोर बनाएको उल्लेख गर्दै उनले कांग्रेसले अब नयाँ प्रतिबद्धता लिनुपर्ने आवश्यकता औंल्याए ।

प्रतिवेदन वाचनका क्रममा शर्माले भविष्यमा कांग्रेसका तर्फबाट कुनै पनि व्यक्ति दुई पटकभन्दा बढी प्रधानमन्त्री नबन्ने उद्घोष विशेष महाधिवेशनमार्फत गरिन लागेको बताए । यस नीतिलाई केवल पार्टी घोषणामै सीमित नराखी संविधानमा नै लिपिबद्ध गर्न कांग्रेसले अग्रसरता लिने उनको भनाइ छ ।

देशलाई अस्थिरताबाट स्थायित्वतर्फ लैजान कांग्रेसले नीति र संरचनागत सुधारमा नेतृत्वदायी भूमिका खेल्नुपर्नेमा उनले जोड दिए । यसै सन्दर्भमा समन्यायिक विकासको अवधारणाअनुसार सबै निर्वाचन क्षेत्रमा समानुपातिक बजेट विनियोजन हुनुपर्ने आवश्यकता पनि उनले औंल्याए ।

महामन्त्री शर्माले प्रस्तुत गरेको प्रस्तावलाई राजनीतिक स्थायित्व, नेतृत्व हस्तान्तरण र संस्थागत सुधारसँग जोडेर हेरिएको छ । कांग्रेसभित्रै यसले दीर्घकालीन राजनीतिक संस्कार विकासमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।