Breaking Nepal

काठमाडौं / पश्चिम एसियामा राजनीतिक तथा सामाजिक अस्थिरता थप जटिल बन्दै गएको छ । गाजा पट्टी र लेबनानमा जारी तनावबीच इरान पनि पछिल्ला हप्तादेखि तीव्र जनआक्रोशको केन्द्रमा परेको छ । इरानी सर्वोच्च नेता अयातुल्ला अली खामेनीविरुद्ध राजधानी तेहरानसहित विभिन्न सहरमा निरन्तर प्रदर्शन भइरहेका छन् ।
सरकारविरुद्ध सडकमा उत्रिएका प्रदर्शनकारीले शासन व्यवस्थामाथि प्रश्न उठाइरहेका बेला सुरक्षाकर्मीलाई शान्ति सुरक्षा कायम गर्न चुनौती बढेको छ । तेहरानमा सेना र सुरक्षाबल परिचालन गरिए पनि अवस्था पूर्ण रूपमा नियन्त्रणमा आउन सकेको छैन ।
इरानी सरकारले पछिल्ला दिनदेखि देशभर फोन तथा इन्टरनेट सेवा अवरुद्ध गरेको छ । प्रदर्शनका क्रममा भएको मानवीय क्षतिको विवरणलाई लिएर अन्तर्राष्ट्रिय तहमा मतभेद देखिएको छ । अमेरिकी मानवअधिकार संस्थाहरूले हालसम्म ६ हजार १२६ जनाको मृत्यु भएको दाबी गरेका छन् ।
तर इरानी सरकारी स्रोतले भने मृतकको संख्या तीन हजार ११७ रहेको जनाएको छ । सरकारी विवरणअनुसार मृतकमा दुई हजार ४२७ सर्वसाधारण तथा सुरक्षाकर्मीसमेत रहेका छन् ।
इरानमा जारी अशान्तिको प्रभाव छिमेकी मुलुकहरूमा पनि देखिन थालेको छ । पछिल्लो रिपोर्टअनुसार लेबनानको राजधानी बेरुतको दक्षिणी उपनगरमा इरानी सरकारको समर्थनमा र्याली आयोजना गरिएको छ ।
हिजबुल्लाह समर्थक महिलाहरूले सहभागिता जनाएको उक्त र्यालीमा इरानका सर्वोच्च नेता अयातुल्ला अली खामेनीका तस्बिर बोकेर समर्थन जनाइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
विश्लेषकहरूका अनुसार पश्चिम एसियामा फैलँदो राजनीतिक तनावले क्षेत्रीय स्थायित्व मात्र होइन, ऊर्जा आपूर्ति, व्यापार र लगानी वातावरणमा समेत दीर्घकालीन असर पार्ने सम्भावना बढ्दै गएको छ ।
एजेन्सीको सहयोगमा