Breaking Nepal

काठमाडौं / नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आगामी निर्वाचनबाट पनि कांग्रेस संसद्को पहिलो पार्टीका रूपमा स्थापित हुने दाबी गरेका छन्। आफ्नै सम्पर्क कार्यालयमा आयोजित पत्रकार भेटघाटमा उनले सामाजिक सञ्जालमा नयाँ दलहरूको प्रचार तीव्र देखिए पनि त्यसले कांग्रेसको जनाधारमा असर नपरेको बताए।
कोइरालाका अनुसार चुनाव कांग्रेसका लागि संगठनात्मक क्षमता र जनविश्वास परीक्षण गर्ने महत्वपूर्ण अवसर हो। उनले आन्तरिक मतभेदलाई सँगै थन्क्याएर पार्टी पंक्तिलाई चुनावी परिणाममा केन्द्रित हुन आग्रह गरे। “कांग्रेसले जनमत गुमाएको छैन। सबै निर्वाचन क्षेत्रमा उम्मेदवार भएकाले समानुपातिक मत बढ्नेछ,” उनले भने, “दलहरू आ–आफ्नै रूपमा प्रतिस्पर्धामा रहेकाले प्रत्यक्षतर्फका सिट पनि घट्ने होइन, बढ्ने आधार छ।”
उनले पार्टीभित्र विचार र दृष्टिकोणमा मतभेद रहनु स्वाभाविक भएको उल्लेख गर्दै ती विषय आन्तरिक संयन्त्रमार्फत समाधान गरिने बताए। चुनावी परिणामले पार्टीको समग्र छविमा प्रभाव पार्ने भएकाले संगठनको शक्तिलाई कमजोर बनाउने गतिविधि कसैले नगर्ने विश्वास व्यक्त गरे।
हरेक निर्वाचन क्षेत्रमा प्रभावकारी तयारी गर्न सके देशव्यापी रूपमा सकारात्मक नतिजा आउने उनको भनाइ छ। कांग्रेसले संगठन सुदृढीकरण र उम्मेदवार व्यवस्थापनमा ध्यान दिएर अघि बढे आगामी निर्वाचनमा अग्रता कायम रहने कोइरालाको निष्कर्ष छ।