घुस प्रकरणपछि सादा पोशाकका प्रहरी निगरानीमा, ८२ हेडक्वार्टर तानिए

Breaking Nepal

बुधबार ,माघ १४ , २०८२ ०७:५१

काठमाडौं / लागुऔषध कारोबारीसँग दुई लाख रुपैयाँ असुलेको आरोपमा काठमाडौं उपत्यका प्रहरी कार्यालयमा कार्यरत सादा पोशाकका दुई प्रहरी हिरासतमा परेपछि नेपाल प्रहरीभित्र सादा पोशाकमा खटाइएका कर्मचारीमाथि कडाइ गरिएको छ । प्रहरी हवल्दार धीरेन्द्र विष्ट र जवान सुजन कार्कीलाई जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धानका लागि नियन्त्रणमा लिएको हो ।

परिसरका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईका अनुसार प्रारम्भिक अनुसन्धानमा रकम असुली भएको देखिएपछि उनीहरूलाई हिरासतमा राखिएको हो । विष्ट यसअघि पनि हुन्डी कारोबारको रकम लुटपाट प्रकरणमा जोडिएका व्यक्ति हुन्, जसले सादा पोशाकमा प्रहरी परिचालनप्रति फेरि प्रश्न उठाएको छ ।

यस घटनापछि प्रहरी प्रधान कार्यालयले सादा पोशाकमा कार्यरत प्रहरी कर्मचारीमाथि व्यापक छानबिन थालेको छ । प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी अबिनारायण काफ्लेले हालसम्म ८२ जना प्रहरी कर्मचारीलाई हेडक्वार्टर झिकाएर छानबिन भइरहेको जानकारी दिए । उजुरी, आर्थिक अनियमितता र संगठनको नीतिविपरीत गतिविधिमा संलग्न भएको आशंकामा उनीहरूलाई तानिएको हो ।

यसअघि नै सादा पोशाकका प्रहरी बदनाम भएको भन्दै गृहमन्त्रालयले युनिफर्म ड्युटीमा फर्काउन निर्देशन दिएको थियो । अध्ययन कार्यदलले ट्र्याक रेकर्डका आधारमा मात्र सादा पोशाकमा खटाउनुपर्ने, अवधि तोक्नुपर्ने र विशेष तालिम अनिवार्य गर्नुपर्ने सुझाव दिएको भए पनि कार्यान्वयन हुन नसकेको देखिन्छ ।

हालको घुस प्रकरणले सादा पोशाकमा प्रहरी परिचालनसम्बन्धी कार्यविधि पुनरावलोकन र कडाइ आवश्यक रहेको सन्देश दिएको छ । दोषी देखिए कानुनअनुसार कारबाही र निर्दोष प्रमाणित भए पुनः कार्यक्षेत्रमा फर्काइने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।