Breaking Nepal

विराटनगर / मोरङको जहदा गाउँपालिका–४ मा सञ्चालित शैलजा आचार्य स्मृति पोलिटेक्निकलले आफ्नो २४औँ वार्षिक उत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न गरेको छ । श्रीकृष्णप्रसाद कोइराला सेवा गुठीको साझेदारीमा सञ्चालित उक्त संस्थाको कार्यक्रम शिक्षण–शिक्षा क्षेत्रमा योगदान र उपलब्धि प्रस्तुत गर्ने अवसरका रूपमा रहेको आयोजकले जनाएको छ ।
कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेश सरकारका स्वास्थ्य मन्त्री मानबहादुर लिम्बूले प्राविधिक शिक्षाले रोजगारी सिर्जना र आत्मनिर्भर जनशक्ति उत्पादनमा महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै यस्ता संस्थाको भूमिका अझ सशक्त हुनुपर्नेमा जोड दिए ।
कार्यक्रममा कोशी प्रदेशसभा सदस्य गयानन्द मण्डल, जहदा गाउँपालिकाका अध्यक्ष जितेन्द्रप्रसाद साह तथा पोलिटेक्निकलका प्रधानाध्यापक सन्त अधिकारी विशिष्ट अतिथिका रूपमा सहभागी थिए ।
संस्थाका प्रतिनिधि शिशिर सुबालले स्वागत मन्तव्यमार्फत कार्यक्रमको औपचारिक सुरुवात गरेका थिए । अवसरमा शैक्षिक तथा प्रशासनिक क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका शिक्षक तथा कर्मचारीहरूलाई प्रशंसा पत्र प्रदान गरिएको थियो। प्रशंसा पत्र प्रमुख अतिथि लिम्बुले वितरण गरेका थिए ।
कार्यक्रम शैलजा आचार्य स्मृति पोलिटेक्निकलकी अध्यक्ष मिता आचार्यको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रममा विद्यार्थी, अभिभावक, शिक्षक, कर्मचारी तथा स्थानीय समुदायको उल्लेखनीय उपस्थिति रहेको थियो। अभिभावकहरूले संस्थाले प्राविधिक शिक्षामा पुर्याउँदै आएको योगदानको प्रशंसा गर्दै शिक्षाको गुणस्तर सन्तोषजनक रहेको प्रतिक्रिया दिएका थिए ।
आयोजक संस्थाले आगामी दिनमा पनि समयानुकूल, गुणस्तरीय प्राविधिक शिक्षा प्रदान गर्दै दक्ष, सक्षम र आत्मनिर्भर जनशक्ति उत्पादनमा निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गरेको छ । कार्यक्रममा विद्यार्थीहरूले प्रस्तुत गरेका विविध सांस्कृतिक प्रस्तुतिहरूले समारोहलाई थप आकर्षक बनाएको थियो ।