Breaking Nepal

विराटनगर / विराटनगर–१० स्थित मार्टस मेमोरियल स्कुलले विद्यालयको शैक्षिक तथा व्यवस्थापकीय समन्वय सुदृढ गर्ने उद्देश्यसहित अनुभवी शिक्षक नारायण स्वर्णकारलाई को–अर्डिनेटर नियुक्त गरेको छ ।
सोमबार आयोजित कार्यक्रममा विद्यालय व्यवस्थापनले स्वर्णकारलाई खादा, माला र टीका लगाएर औपचारिक रूपमा जिम्मेवारी हस्तान्तरण गरेको हो । कार्यक्रममा विद्यालयका संस्थापक सीएम श्रेष्ठ, प्राचार्य विजय डाँगी तथा शिक्षक दिनेश ढकाललगायतले नवनियुक्त को–अर्डिनेटरलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरे ।
प्राचार्य डाँगीले स्वर्णकारको लामो शिक्षण र व्यवस्थापन अनुभवले विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि हुने विश्वास व्यक्त गरे । संस्थापक श्रेष्ठले नेतृत्व क्षमतासहितको अनुभवले मार्टस मेमोरियल स्कुललाई थप संस्थागत मजबुती दिने धारणा राखे ।
शिक्षक दिनेश ढकालले पनि शिक्षण पेशामा लामो अनुभव प्राप्त गरेका स्वर्णकारको आवागमनले विद्यालये थप प्रगति हासिल गर्ने विचार व्यक्त गरे । कार्यक्रममा सहभागी शिक्षक–शिक्षिकाहरूले खादामाला लगाएर स्वर्णकारलाई बधाई तथा शुभकामना दिएका थिए ।
२१ वर्षभन्दा बढी समयदेखि शिक्षा क्षेत्रमा सक्रिय स्वर्णकार विभिन्न शैक्षिक संस्थामा अध्यापन तथा व्यवस्थापन अनुभव हासिल गरिसकेका छन् । उनको नियुक्तिसँगै विद्यालयको शैक्षिक तथा प्रशासनिक समन्वय अझ प्रभावकारी हुने अपेक्षा गरिएको छ ।
यसैबीच, विद्यालयले शैक्षिक पूर्वाधार विस्तारतर्फ नयाँ भवन निर्माण सुरु गरेको जनाएको छ । निर्माणाधीन आधुनिक भवनमा कक्षा ३ देखि १० सम्म पठनपाठन सञ्चालन गर्ने योजना छ । विद्यालयमा मन्टेसरी बेस्ड शिक्षण पद्धति, एसीसहितका स्मार्ट कक्षाकोठा, डे केयर सेवा, फुडिङसहित डे बोर्डर तथा बोर्डिङ सुविधा उपलब्ध गराइने बताइएको छ । हाल विद्यालयमा डीएसटीआई मोडलमा आधारित शिक्षण प्रणाली लागू रहेको छ ।
संस्थापक श्रेष्ठका अनुसार आगामी दिनमा प्लस टु कार्यक्रम सञ्चालन गर्ने तयारी भइरहेको छ । प्लस टु तहमा साइन्स, म्यानेजमेन्ट, कम्प्युटर साइन्स तथा होटल म्यानेजमेन्ट विषय अध्यापन गराउने योजना रहेको उनले जानकारी दिए ।
मार्टस मेमोरियल स्कुलले गुणस्तरीय, व्यवहारिक र आधुनिक शिक्षामार्फत विद्यार्थीको सर्वाङ्गीण विकासमा केन्द्रित रहँदै शैक्षिक सेवामा आफ्नो उपस्थितिलाई थप सुदृढ बनाउँदै आएको जनाएको छ ।