Breaking Nepal

काठमाडौं / राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता तथा प्रजातान्त्रिक आन्दोलनका पुराना हस्ती विश्वबन्धु थापाको ९८ वर्षको उमेरमा निधन भएको छ। उपचारका क्रममा शनिबार साँझ मण्डिखाटारस्थित हेम्स अस्पताल मा उनको निधन भएको राप्रपाले जनाएको छ।
वि.सं. २००७ सालको क्रान्तिमा सक्रिय भूमिका निर्वाह गरेका थापा आठ दशकभन्दा लामो समय नेपालको राजनीतिक उतारचढावका प्रत्यक्ष साक्षी र सहभागी बने। प्रजातान्त्रिक आन्दोलनदेखि पञ्चायती व्यवस्थासम्म उनले विभिन्न चरणमा नेतृत्वदायी भूमिका खेलेका थिए।
२०१७ सालमा तत्कालीन राजा महेन्द्रले चालिएको कदमपछि स्थापित पञ्चायती व्यवस्थामा उनले वैचारिक तथा सांगठनिक नेतृत्व प्रदान गरेका थिए। सोही क्रममा उनी राष्ट्रिय पञ्चायतका अध्यक्षसमेत बनेका थिए। त्यसअघि उनी नेपाली कांग्रेस का महामन्त्री तथा तत्कालीन मन्त्रिपरिषद्को उपाध्यक्षको जिम्मेवारीमा समेत रहिसकेका थिए।
राप्रपाका नेता कमल थापाले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्त गर्दै स्वर्गीय थापा तत्कालीन राजा महेन्द्रका विश्वासपात्र र कांग्रेस सभापति बीपी कोइरालाका अनुयायी रहेको उल्लेख गरेका छन्।
उनको पार्थिव शरीरको अन्त्येष्टि आइतबार गरिने राप्रपाले जनाएको छ। नेपालको राजनीतिक इतिहासका एक महत्वपूर्ण अध्यायका साक्षी थापाको निधनसँगै एक युगको अन्त्य भएको राजनीतिक वृत्तमा चर्चा गरिएको छ।