Breaking Nepal

काठमाडौं / आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत समूह चरणको आफ्नो तेस्रो खेलमा नेपाल राष्ट्रिय क्रिकेट टोली नौ विकेटले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ। भारतको मुम्बईस्थित वानखेडे स्टेडियम मा आइतबार सम्पन्न खेलमा नेपालले दिएको १३४ रनको सामान्य लक्ष्य वेस्ट इन्डिज क्रिकेट टोली ले १५.२ ओभरमै एक विकेट गुमाएर पूरा गर्दै सुपर–८ मा स्थान सुरक्षित गरेको हो।
लक्ष्य पछ्याउने क्रममा वेस्ट इन्डिजका कप्तान साई होप ६१ रनमा अविजित रहे। उनले ४४ बलमा पाँच चौका र तीन छक्का प्रहार गर्दै जितको आधार तयार पारे। शिमरन हेटमायरले ३२ बलमा ४६ रन बनाउँदै होपसँग मिलेर दोस्रो विकेटका लागि ८७ रनको महत्वपूर्ण साझेदारी गरे। ब्रान्डन किंगले २२ रन जोडे। नेपालका लागि नन्दन यादवले एक मात्र विकेट हात पारे।
यसअघि टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १३३ रन बनाएको थियो। कठिन परिस्थितिमा उपकप्तान दीपेन्द्रसिंह ऐरीले ५८ रनको संयमित अर्धशतकीय इनिङ खेल्दै टोलीलाई प्रतिस्पर्धी योगफलसम्म पुर्याए। उनले ४७ बलमा तीन चौका र तीन छक्का प्रहार गरे। यो विश्वकपमा नेपालको १२ वर्षपछि आएको पहिलो अर्धशतक हो। यसअघि सन् २०१४ संस्करणमा सुवास खकुरेलले अर्धशतक बनाएका थिए।
७३–६ को दबाबपूर्ण अवस्थाबाट दीपेन्द्रले सोमपाल कामीसँग सातौँ विकेटका लागि ५४ रनको साझेदारी गर्दै पारी उकासेका थिए। सोमपालले १५ बलमा चार चौकासहित २६ रन जोडे। लोकेश बम १३ रनमा आउट हुँदा आसिफ शेख र गुलसन झाले समान ११ रन बनाए। शीर्षक्रम चल्न नसक्दा कुशल भुर्तेल एक रनमै पवेलियन फर्किए। कप्तान रोहित पाँच, आरिफ शेख दुई र करण केसी एक रनमा सीमित भए।
नेपाललाई मध्यम स्कोरमा रोक्न जेसन होल्डर निर्णायक सावित भए। उनले चार ओभरमा २७ रन खर्चेर चार विकेट लिए। अकिल हुसेन, म्याथ्यु फोर्डे, शमार जोसेफ र रोस्टन चेजले समान एक विकेट लिए।
लगातार तेस्रो जित निकालेको वेस्ट इन्डिजले यसअघि स्कटल्यान्डलाई ३५ र इंग्ल्यान्डलाई ३० रनले पराजित गरेको थियो। नेपाल भने तीनै खेलमा पराजित हुँदै समूह चरणबाट बाहिरिने दोस्रो टोली बन्यो। यसअघि ओमान प्रतियोगिताबाट बाहिरिसकेको थियो।