कोइराला समाजको होली मिलन कार्यक्रम, डा. शेखर कोइरालालाई विजयी बनाउन सबै एकमत

Breaking Nepal

pen
जेनिश कोइराला
बुधबार ,फाल्गुन ६ , २०८२ १३:५६

विराटनगर / कोइराला समाज सेवा नेपाल मोरङ शाखाले होली पर्वको अवसर पारेर बन्धुबान्धव तथा कुटुम्बबीच आपसी सद्भाव र एकताको सन्देश दिने उद्देश्यले भव्य होली मिलन समारोह आयोजना गरेको छ । रंग र उत्साहबीच सम्पन्न कार्यक्रम सामाजिक सद्भावको थलो मात्र नभई राजनीतिक सन्देशको मञ्चसमेत बनेको थियो ।

समारोहमा बोल्ने अधिकांश वक्ताले प्रतिनिधिसभाको आगामी निर्वाचनलाई लक्षित गर्दै मोरङ क्षेत्र नम्बर ६ का उम्मेदवार डा. शेखर कोइराला र समानुपातिकतर्फकी उम्मेदवार रुक्मिणी कोइरालालाई विजयी गराउन आह्वान गरे ।

कांग्रेसका वरिष्ठ नेतासमेत रहेका उम्मेदवार डा. शेखर कोइरालाले सामाजिक तथा पारिवारिक जमघटमै आफ्ना पक्षमा समर्थन व्यक्त भएकोप्रति कृतज्ञता प्रकट गर्दै लोकतान्त्रिक मूल्य–मान्यता जोगाउन जिम्मेवार नेतृत्व आवश्यक रहेको बताए । उनले विगतका आन्दोलनका क्रममा राज्यका महत्वपूर्ण संरचना र ऐतिहासिक धरोहरमा आगजनी गर्ने शक्तिहरू पुनः सत्तामा पुगे मुलुक गम्भीर संकटतर्फ धकेलिन सक्ने चेतावनी दिए ।

समानुपातिक उम्मेदवार रुक्मिणी कोइरालाले लोकतन्त्र, संसदीय सर्वोच्चता र संविधानको रक्षाका लागि जिम्मेवार राजनीतिक शक्तिको आवश्यकता औंल्याउँदै यसको भरपर्दो विकल्प नेपाली कांग्रेस मात्र भएको दाबी गरिन् ।

कार्यक्रममा विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले विराटनगरलाई आधारभूमि बनाएर कोइराला परिवारले लोकतान्त्रिक आन्दोलनमा पुर्‍याएको योगदान राष्ट्रिय मात्र नभई अन्तर्राष्ट्रिय रूपमा पनि सम्मानित रहेको उल्लेख गरे ।

त्यस्तै केदार कोइरालाले सनातन धर्म, संस्कृति र परम्पराको संरक्षण गर्न सक्ने राजनीतिक शक्तिलाई मत दिन आग्रह गरे ।

समाजका अध्यक्ष पारस कोइरालाको सभापतित्वमा सम्पन्न कार्यक्रममा कोशी प्रदेशका पूर्व महान्यायाधिवक्ता रूपेश कोइराला, वरिष्ठ अधिवक्ता रमेश कोइराला तथा ज्येष्ठ सदस्य घनश्याम कोइरालालगायतले सामाजिक एकता र लोकतान्त्रिक सुदृढीकरणको आवश्यकतामाथि जोड दिएका थिए ।

होलीको रंगसँगै राजनीतिक प्रतिबद्धताको सन्देश मिसिएको उक्त समारोहले पारिवारिक पुनर्मिलनलाई लोकतान्त्रिक बहसको अवसरमा रूपान्तरण गरेको सहभागीहरूले बताएका छन् ।