Breaking Nepal

विराटनगर / प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा मोरङ क्षेत्र नम्बर ६ मा नेपाली कांग्रेसका उम्मेदवार डा. शेखर कोइरालाको पक्षमा चुनावी माहौल क्रमशः सुदृढ बन्दै गएको देखिएको छ ।
पछिल्ला दिनहरूमा युवादेखि ज्येष्ठ नागरिक, बुद्धिजीवि, मजदुर, किसान तथा व्यवसायी समुदायसमेत कोइरालाको समर्थनमा खुला रूपमा सक्रिय हुन थालेपछि क्षेत्रको राजनीतिक सरगर्मी बढेको छ । चुनावी अभियानलाई व्यवस्थित र लक्षित ढंगले अगाडि बढाउन युवा परिचालनलाई विशेष प्राथमिकतामा राखिएको छ । युवा नेता विमल भट्टराईको नेतृत्वमा क्षेत्र नम्बर ६ का सबै २० वटै वडामा युवा सञ्जाल विस्तार गरिएको छ । प्रत्येक वडामा संयोजक तोकी समिति गठन गरिएको र ‘जेनजी’ भनेर चिनिने नयाँ पुस्ताका युवालाई प्रत्यक्ष अभियानमा सहभागी गराइएको भट्टराईले जानकारी दिए ।
उनका अनुसार डा. शेखर कोइरालाले जेनजीका सवालमा प्रारम्भदेखि नै स्पष्ट धारणा राख्दै आएका कारण युवावर्गमा सकारात्मक सन्देश पुगेको छ । ‘युवाका रोजगारी, अवसर र नीतिगत सहभागिताको विषयमा सबैभन्दा पहिला आवाज उठाउने नेतामध्ये कोइराला हुनुहुन्छ,’ भट्टराईले भने, ‘त्यसैले यसपटक उहाँलाई जिताउन युवाहरू अत्यन्तै उत्साहित र संगठित छन् ।’
क्षेत्रका विभिन्न वडामा आयोजित भेटघाट, घरदैलो तथा अन्तरक्रिया कार्यक्रममार्फत युवा पुस्ताले आफ्ना अपेक्षा र सुझाव प्रत्यक्षरूपमा उम्मेदवारसमक्ष राखिरहेका छन् । बूढीगंगा–४ का युवा परिचालन समिति संयोजक अभय सरदार थारूका अनुसार जेनजीका मुद्दालाई राजनीतिक एजेन्डामा स्थापित गर्न कोइरालाले खेलेको भूमिकाले युवामा विश्वासको वातावरण सिर्जना गरेको छ । ‘जेनजी आन्दोलनका बेला उहाँले सबैभन्दा पहिला विज्ञप्ति जारी गरी सरकारको ध्यानाकर्षण गराउनुभएको थियो,’ थारूले भने, ‘त्यही कारण हामी उहाँलाई आफ्ना अभिभावकका रूपमा लिन्छौं ।’
विशेषगरी वैदेशिक रोजगारी, सीप विकास, स्टार्टअप प्रवद्र्धन, डिजिटल अवसर विस्तार तथा शिक्षालाई श्रम बजारसँग जोड्ने विषयमा कोइरालाले निरन्तर बहस चलाउँदै आएका छन् । निर्वाचन प्रचारका क्रममा पनि उनले युवामैत्री नीतिगत सुधार, स्थानीय उत्पादनमा आधारित उद्योग प्रवद्र्धन र स्वरोजगारका अवसर विस्तारलाई प्राथमिक एजेन्डा बनाएका छन् ।
राजनीतिक विश्लेषक हरूका अनुसार मोरङ–६ मा युवाको निर्णायक मत प्रभावकारी हुने देखिएकाले युवा लक्षित रणनीतिले निर्वाचन परिणाममा महत्वपूर्ण प्रभाव पार्न सक्छ । पछिल्लो समय सामाजिक सञ्जालमार्फत समेत युवा परिचालन तीव्र बनेको छ । डिजिटल अभियान, भेला तथा स्वयंसेवी सञ्जालमार्फत मतदातासँग प्रत्यक्ष संवाद बढाइएको छ ।
यता, मजदुर र किसान समूहसँगको छलफलमा कोइरालाले कृषि आधुनिकीकरण, सिंचाइ विस्तार र बजार सुनिश्चितताका कार्यक्रमलाई प्राथमिकता दिने प्रतिबद्धता जनाएका छन् । व्यापारी समुदायसँगको संवादमा उनले क्षेत्रीय पूर्वाधार, सडक सञ्जाल र औद्योगिक वातावरण सुधारका विषयलाई जोड दिएका छन् ।
यसरी बहुआयामिक अभियानमार्फत मोरङ–६ मा डा. शेखर कोइरालाको पक्षमा समर्थनको आधार फराकिलो बन्दै गएको नेपाली कांग्रेस विराटनगर महानगर सभापति दीपक चापागाईं दाबी गर्छन् ।