Breaking Nepal

विराटनगर / नेपाली कांग्रेसका वरिष्ड नेता डा. शेखर कोइरालाले बुढीगंगा गाउँपालिका–२ स्थित मुस्लीम टोलका कृषकहरूको दीर्घकालीन सिचाइँ समस्यालाई समाधान गर्न १ करोड ५० लाख रुपैयाँको लागतमा डिप बोरिङको प्रबन्ध गरेका छन्। नेपाली कांग्रेसका तर्फबाट मोरङ क्षेत्र नम्बर ६ का प्रतिनिधिसभा उम्मेदवारसमेत रहेका कोइरालाको पहलमा जडान गरिएको उक्त डिप बोरिङबाट करिब ५० बिघा खेत जमिन सिंचित भएको छ।

स्थानीय कृषकका अनुसार वर्षौंदेखि पर्याप्त सिचाइँको अभावका कारण खेतीपाती प्रभावित हुँदै आएको थियो। पानीको अभावले मुख्य रूपमा धान, गहुँ, मकै तथा तरकारी खेतीमा समस्या भइरहेको थियो। डिप बोरिङ जडान भएपछि नियमित सिचाइँ सुविधा उपलब्ध भएको छ। कृषकहरूले अब वर्षभर खेती गर्न सक्ने र उत्पादन वृद्धि हुने अपेक्षा गरेका छन्। यसले कृषकको आम्दानीमा पनि सुधार ल्याउने विश्वास व्यक्त गरिएको छ।
सोही मुस्लीम टोलस्थित मदरसाको पुनःनिर्माणमा पनि डा। कोइरालाले सहयोग गरेका छन्। अघिल्लो निर्वाचनका बेला मदरसाको टिनको छानाबाट पानी चुहिने समस्या देखिएको थियो। वर्षा वा मौसम प्रतिकूल हुँदा कक्षाकोठा भिज्ने समस्या देखिन थालेपछि कोइरालाकै पहलमा मर्मत तथा पुनःनिर्माण कार्य सम्पन्न गरिएको थियो। स्थानीयवासीले यस पहलप्रति आभार व्यक्त गरेका छन्।
शुक्रबार उक्त स्थानमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै कोइरालाले शिक्षा, कृषि र स्वास्थ्य क्षेत्रमा विशेष ध्यान दिएको बताए। मदरसाको भौतिक पूर्वाधार सुदृढीकरणसँगै गुणस्तरीय शिक्षा सुनिश्चित गर्न आवश्यक सहयोग निरन्तर जारी रहने प्रतिबद्धता व्यक्त गरे। उनले समुदायको समग्र विकासका लागि सबै क्षेत्रको सन्तुलित विकास आवश्यक रहेको पनि बताए।
त्यसैगरी, वडा नम्बर २ अन्तर्गत अमाहीमा आयोजित कार्यक्रममा उनले महिलाहरूलाई सीपमूलक तालिम सञ्चालन गरी आत्मनिर्भर बनाउने योजना अघि सारे। महिलाहरूलाई सिलाइ–कटाइ, घरेलु उद्योग र अन्य व्यावसायिक तालिममार्फत स्वरोजगारतर्फ उन्मुख गराउने र आर्थिक सशक्तिकरणमा सहयोग गर्ने उद्देश्य रहेको बताए। उनले मतदातासँग कांग्रेसलाई विजयी गराउन आग्रह गर्दै विकासको निरन्तरता सुनिश्चित गर्ने विश्वास दिलाए।
स्थानीय पञ्चेश्वर मन्दिरको सभाहलमा सम्पन्न अर्को चुनावी सभामा कोइरालाले बुढीगंगा गाउँपालिकामा दुईवटा पालिका–स्तरीय सरकारी अस्पताल सञ्चालनमा रहेको जानकारी गराए। आफ्नै पहलमा सञ्चालनमा आएको यस स्वास्थ्य सेवाले स्थानीय बासिन्दालाई सहज र गुणस्तरीय उपचार उपलब्ध गराएको उनले बताए। “यहाँ दुईवटा सरकारी सुविधा सम्पन्न अस्पताल सञ्चालनमा हुनु बुढीगंगावासीका लागि गर्वको विषय हो,” उनले भने।
उक्त कार्यक्रम बुथ सभापति बोध नारायण विश्वासको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा स्थानीय नेता, कार्यकर्ता तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो।
डा कोइरालाको यी पहलले कृषि, शिक्षा, स्वास्थ्य र महिला सशक्तिकरणका क्षेत्रमा सकारात्मक प्रभाव पारेको स्थानीयवासीले बताएका छन्। उनको ध्यान ग्रामीण विकास र समुदायको भौतिक तथा सामाजिक सुधारमा केन्द्रित रहेको देखिन्छ। आगामी निर्वाचनमा विजय प्राप्त भए थप विकासका कार्य अघि बढाउने कोइरालाको प्रतिबद्धता स्पष्ट देखिएको छ।