Breaking Nepal

रौतहट / कर्फ्यू आदेश जारी गरिए पनि गौरका विभिन्न भित्री क्षेत्रमा आगजनीका घटना रोकिएका छैनन्। जिल्ला प्रशासन कार्यालयले कर्फ्यू घोषणा गरी नेपाली सेनासमेत परिचालन गरेपछि मुख्य सडक क्षेत्रमा सतर्कता बढेको छ। तर, भित्री बस्तीहरूमा भने छिटफुट हिंसात्मक गतिविधि जारी रहेको देखिएको छ।
प्रशासनका अनुसार गौर नगरपालिका–४ मचकुटिया टोलमा भर्खरै एक स्कुटरमा आगजनी गरिएको छ। यससँगै हालसम्म प्रदर्शनकारी समूहले ६ वटा मोटरसाइकल र २ वटा जिपमा आगजनी गरेको पुष्टि भएको छ। सेना र प्रहरीको उपस्थितिका कारण बजार क्षेत्र अपेक्षाकृत शान्त देखिए पनि आवासीय तथा भित्री गल्लीहरूमा तनाव कायम रहेको स्थानीय स्रोतले जनाएको छ।
तनावको सुरुआत गौर नगरपालिका–६ स्थित सनगढा गाउँमा दुई समुदायबीच भएको झडपबाट भएको हो। मुस्लिम समुदाय मस्जिदमा नमाज अदा गरिरहेका बेला हिन्दु समुदायले बाजा बजाएको विषयलाई लिएर विवाद चर्किएको बताइएको छ। सोही विवादले वडा नम्बर ४, ५ र ६ मा झडपको रूप लिएको थियो।
स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर तथा अश्रुग्यास प्रहार गरेको थियो। झडपका क्रममा केही सवारी साधनमा आगजनी हुनुका साथै केही घरमा तोडफोड भएको प्रहरीले जनाएको छ। घटनामा केही व्यक्ति सामान्य घाइते भएको जानकारी पनि प्राप्त भएको छ।
थप हिंसा भड्किन सक्ने जोखिम देखिएपछि जिल्ला प्रशासन कार्यालय रौतहटले शनिबार दिउँसो १ बजेदेखि लागू हुने गरी कर्फ्यू आदेश जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी दिनेश सागर भूसालका अनुसार पूर्वमा मुडबलवा गेट, पश्चिममा लालबकैया बाँध, उत्तरमा बम नहर र दक्षिणमा गौर भन्सार कार्यालयसम्म कर्फ्यू क्षेत्र तोकिएको छ।
सुरक्षाकर्मीको उच्च सतर्कताबीच अवस्था नियन्त्रणमा ल्याउने प्रयास जारी रहेको प्रशासनले जनाएको छ। यद्यपि, भित्री क्षेत्रमा जारी छिटफुट आगजनी र तनावका कारण स्थिति पूर्ण रूपमा सामान्य भइसकेको छैन। स्थानीय प्रशासनले सर्वसाधारणलाई संयमित रहन र अफवाहमा विश्वास नगर्न आग्रह गरेको छ।