कांग्रेसले जितेमात्रै लोकतन्त्र र ट्रेड युनियन अधिकार सुनिश्चित हुन्छ : अजयकुमार राई (अन्तरवार्ता)

Breaking Nepal

आइतबार ,फाल्गुन १७ , २०८२ १८:५४

करिब ३४ वर्षदेखि श्रमिक आन्दोलनमा क्रियाशील रहेका नेपाल ट्रेड युनियन कांग्रेसका महासचिव अजयकुमार राई अन्तर्राष्ट्रिय ट्रेड युनियन आन्दोलनमा पनि परिचित नाम हुन् । बेलायतस्थित ईन्टरनेशनल ट्रान्सपोर्ट वर्कस फेडेरेशनका विश्व कार्य समितिका सदस्यसमेत रहेका राई अहिले आमनिर्वाचनलाई मध्यनजर गर्दै ट्रेड युनियन कांग्रेस केन्द्रीय निर्वाचन परिचालन समितिको सदस्य सचिवको रूपमा पनि सक्रिय छन् । उनले बारा, पर्सा, सुदूरपश्चिमका जिल्लाहरुदेखि आफ्नो गृह जिल्ला मोरङसम्म भ्रमण गर्दै निर्वाचनको तयारी र माहोलबारे चर्चा गरेका छन् । महासचिव राईसित ब्रेकिङ नेपाल न्यूजका लागि जेनिश कोइरालाले गरेको कुराकानीको सार–

तपाईंले हालैमात्र केही जिल्लाहरु घुमेर आउनुभयो । निर्वाचनको परिस्थिति कस्तो पाउनुभयो ?

हो, मैले बारा–पर्सादेखि सुदूरपश्चिम, बाँके हुँदै हाल मोरङसम्म भ्रमण गरेँ । संगठनका साथीहरूसँग भेटघाट तथा बैठक गर्दा कांग्रेसको पक्षमा माहोल बढेको देखियो । ट्रेड युनियन कांग्रेस नेपाली कांग्रेसको शुभेच्छुक संस्था भएकाले हाम्रो श्रमिक सदस्यहरू निर्वाचनमा उत्साही छन्। पहिले कांग्रेस अलि सुस्त देखिन्थ्यो, तर अहिले वडा–टोलतिर कांग्रेस सक्रिय देखिन्छ र अग्रगतिमा छ ।

ट्रेड युनियन कांग्रेसले निर्वाचनमा कसरी परिचालन गरिरहेको छ ?

करिब दुई महिना अघि सबै तहगत संरचनालाई परिचालित गरेका छौं । केन्द्रदेखि जिल्ला, क्षेत्रसम्म निर्वाचन परिचालन तथा प्रचार प्रसार समितिहरू गठन भएका छन्। साथीहरू विभिन्न जिल्लामा सक्रिय छन्। विशेषगरी सुनसरी–मोरङ, बारा–पर्सा, भैरहवा–बुटवल औद्योगिक करिडोरका उद्योग र कारखानामा कार्यरत श्रमिकहरूलाई परिचालन गर्ने कार्यक्रमहरू गरेका छौं । साथै, कांग्रेसले ०४८ सालदेखि श्रमिक क्षेत्रका लागि गरेका कामहरू पनि समाजमा प्रचार गर्दै आएका छौं । जब श्रमिक वर्गको आर्थिक र सामाजिक स्थिति सुधारिन्छ, मुलुक समृद्ध हुन्छ भन्ने हाम्रो विश्वास छ ।

ट्रेड युनियन कांग्रेस किन नेपाली कांग्रेसको पक्षमा छ ?

नेपाली कांग्रेसले २००३ सालदेखि लोकतन्त्रको लागि संघर्ष गरेको छ। लोकतन्त्रकै पक्षपाती भएकाले मात्र श्रमिक आन्दोलन क्रियाशील रहन सक्छ । यदि नयाँ शक्ति भन्ने दलहरूले ट्रेड युनियनलाई दबाउने प्रयास गर्छन् भने श्रमिक आन्दोलन धरापमा पर्छ । सबै श्रमिक वर्गले यो कुरा बुझिसकेका छन्। हामीले देखेका छौं कि केही दलका नेताहरूले संविधानविपरीत पेशाकर्मीहरूलाई धम्काएको घटनाहरू पनि भएका छन् । त्यसैले लोकतन्त्रको रक्षा र श्रमिक अधिकार सुनिश्चित गर्न कांग्रेसलाई संसदमा बलियो बनाउनु आवश्यक छ ।

कांग्रेसले अहिलेसम्म श्रमिकहरूको लागि के–के गर्यो ?

ट्रेड युनियन कांग्रेस र नेपाली कांग्रेसको सम्बन्ध विशेष छ। विराटनगरको जुट मिल आन्दोलनबाट स्थापित ट्रेड युनियन कांग्रेस लामो समयदेखि सक्रिय छ । कांग्रेस सरकारहरूले इतिहासभर श्रमिकका लागि विभिन्न ऐन–कानुन ल्याएका छन् । ०१५ सालमा पहिलो श्रमिक ऐन, ०४८ सालमा ट्रेड युनियन ऐन, ०४९ सालमा श्रम ऐन, ०६५ सालमा अन्तर्राष्ट्रिय श्रमिक दिवसमा सार्वजनिक विदा, ०७४ सालमा योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, र अन्तर्राष्ट्रिय श्रम संगठनका अभिसन्धिहरू पारित गरेको छ। यी ऐनहरूले श्रमिकहरूलाई कानुनी अधिकार र संरक्षण प्रदान गरेका छन् ।

आगामी निर्वाचनमा कांग्रेस विजयी भएमा श्रमिक क्षेत्रमा के गर्न सकिन्छ जस्तो लाग्छ ?

कांग्रेसको चुनावी प्रतिज्ञापत्रमा श्रमिक अधिकार सुनिश्चित गर्ने योजना समावेश छ । त्रिपक्षीय सामाजिक संवादमार्फत श्रम विवाद समाधान, औद्योगिक शान्ति कायम गर्ने, उत्पादकत्व बढाउने, समान ज्याला, जीवनयापन योग्य न्यूनतम ज्याला, योगदानमा आधारित सामाजिक सुरक्षा, स्वास्थ्य बीमा, वैदेशिक रोजगारमा गएर फर्केका श्रमिकलाई सहुलियतपूर्ण ऋण र राष्ट्रिय परियोजनामा शेयरको व्यवस्था जस्ता मुद्दाहरू समेटिएका छन् । यी सबै लागू गर्न कांग्रेसको जित अनिवार्य छ ।

वैदेशिक रोजगारमा रहेका श्रमिकहरूको पक्षमा के गर्नु भएको छ ?

जीडीपीमा करिब ३० प्रतिशत योगदान गर्ने वैदेशिक रोजगारमा रहेका श्रमिकको मताधिकार सुनिश्चित गर्न निर्वाचन आयोगमा पहल गरेका छौं । कोभिड महामारीमा उनीहरूलाई नेपाल फर्काउने पहल हाम्रो संस्था सक्रियतापूर्वक अघि बढाएको छ । योगदानमा आधारित सामाजिक सुरक्षा र वैदेशिक रोजगारमा स्वास्थ्य बीमा सुनिश्चित गर्न पनि पहल गर्दै आएका छौं । मध्यपूर्वका अशान्त मुलुकमा रहेका श्रमिकहरूको सुरक्षा सुनिश्चित गर्न सरकारले तुरुन्त कूटनीतिक पहल गर्नुपर्छ भन्ने माग राखेका छौं ।

कांग्रेसको चुनाव जित्ने आधार तपाईं के देख्नुहुन्छ ?

मुलत संगठन नै कांग्रेसको बल हो। आवद्ध २७ पेशाकर्मी संगठन र अन्य भातृ तथा शुभेच्छुक संस्था सक्रिय छन् । लोकतन्त्र सबैले चाहिन्छ र यसको प्रतीक नेपाली कांग्रेस हो भन्ने बुझाइ छ । यसैले कांग्रेसको जीत सुनिश्चित देखिन्छ ।

अन्त्यमा, श्रमिकहरूका दृष्टिले के सन्देश दिन चाहनुहुन्छ ?

लोकतन्त्र र ट्रेड युनियन अधिकारको रक्षा गर्न कांग्रेसको जित आवश्यक छ । बाँकी दिन सबै श्रमिक वर्गलाई सक्रिय हुन र मतदानमा सहभागी हुन आव्हान गर्दछु । अन्तर्राष्ट्रिय ट्रेड युनियनहरूले पनि यस निर्वाचनलाई नियालिरहेका छन् । यो निर्वाचन सबैको भाग्य र अवसर भएकोले प्रत्येक श्रमिक आफ्नो अधिकारका लागि सचेत रहोस् ।