भोलि हुने प्रतिनिधिसभा निर्वाचनको सबै तयारी पूरा, निर्वाचन सामग्री, कर्मचारी र सुरक्षाकर्मी मतदान केन्द्रमा

Breaking Nepal

बुधबार ,फाल्गुन २० , २०८२ ०९:११

काठमाडौं / आगामी बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोग ले जनाएको छ। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराई का अनुसार प्रशासनिक, प्राविधिक तथा व्यवस्थापकीय सबै कार्य अन्तिम चरणसम्म सम्पन्न भइसकेका छन्।

आयोगले मतदान केन्द्र निर्धारण, केन्द्र परिसरको हाता तोक्ने, निषेधित क्षेत्र घोषणा गर्ने तथा आवश्यक सूचना प्रकाशन एवं टाँस्ने कार्य सकिएको स्पष्ट पारेको छ। मतदानका लागि आवश्यक सामग्री सम्बन्धित केन्द्रमा पुर्‍याइसकिएको छ भने मतदान अधिकृतसहित कर्मचारीहरू खटाइसकिएको जनाइएको छ।

हाल जिल्ला तथा मतदान केन्द्र तहबाट प्राप्त जिज्ञासा र प्राविधिक समस्याहरू समाधान गर्ने काम भइरहेको आयोगले जनाएको छ। निर्वाचन प्रक्रियालाई पारदर्शी र विश्वसनीय बनाउन ५ हजारभन्दा बढी पर्यवेक्षक परिचालन गरिनेछ। विदेशी प्रतिनिधिहरूका लागि सहजीकरणको व्यवस्था पनि पूरा गरिएको छ।

मौन अवधि जारी रहेकाले आचारसंहिता उल्लंघनका घटनामा कानुनअनुसार कारबाही भइरहेको आयोगले उल्लेख गरेको छ। सुरक्षा व्यवस्थातर्फ सरकारसँग समन्वय गरी संवेदनशील क्षेत्रहरूमा विशेष निगरानीसहित भरपर्दो सुरक्षा प्रबन्ध मिलाइएको दाबी गरिएको छ।

प्रवक्ता भट्टराईले मतदातालाई मत बदर हुन नदिन स्वस्तिक छाप स्पष्ट रूपमा सम्बन्धित चुनाव चिन्हभित्र मात्र लगाई मतदान गर्न आग्रह गरेका छन्। आयोगले सबै मतदातालाई निर्धक्क, निष्पक्ष र शान्तिपूर्ण वातावरणमा मतदान प्रक्रियामा सहभागी हुन अपिल गरेको छ।