निःसन्तान दम्पतीमा आशा जगाउने डा. शान्ति सुवेदीलाई ‘नारी सम्मान’

Breaking Nepal

आइतबार ,फाल्गुन २४ , २०८२ ०८:५२

विराटनगर / स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. शान्ति सुबेदीलाई विराटनगर जेसीजले ‘नारी सम्मान’ प्रदान गरेको छ। जेसीजको ५३औँ स्थापना दिवस तथा अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर उनलाई उक्त सम्मान प्रदान गरिएको हो।

विराटनगरमा लामो समयदेखि स्त्री तथा प्रसूति रोगसम्बन्धी उपचार सेवा दिँदै आएकी सुबेदीले विशेषगरी सन्तान प्राप्तिका लागि संघर्ष गरिरहेका निःसन्तान दम्पतीलाई आशा र भरोसा दिलाउन महत्वपूर्ण भूमिका खेलेको भन्दै सम्मान गरिएको जेसीजले जनाएको छ। उनका पहल र उपचारबाट धेरै परिवारमा सन्तानको खुसी भित्रिएको भन्दै कार्यक्रममार्फत उनको योगदानको प्रशंसा गरिएको थियो।

कार्यक्रममा विराटनगर जेसीजका अध्यक्ष कविराज दाहालले पूर्वअध्यक्षहरूको उपस्थितिमा सुबेदीलाई खादा, माला र दोसल्लासहित सम्मानपत्र प्रदान गरेका थिए। कार्यक्रममा बोल्ने वक्ताहरूले समाजका लागि समर्पित व्यक्तित्वहरूको योगदानले नयाँ पुस्तालाई प्रेरणा दिने उल्लेख गर्दै सुबेदीको कार्यलाई उदाहरणीय बताएका थिए।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा विराटनगर–१० स्थित ब्रह्मकुमारी राजयोग सेवा केन्द्रकी गीता दिदी सहभागी थिइन्। कार्यक्रममा विराटनगर जेसीजका पूर्वअध्यक्ष, पदाधिकारी तथा सदस्यहरूका साथै विराटनगर जुनियर जेसीजका प्रतिनिधि र इनरुवा, दुहवी तथा इटहरी शाखाका अध्यक्षहरूको उपस्थिति थियो।

कार्यक्रम संयोजक आशिका खतिवडाले स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा सहभागी सबैप्रति आभार व्यक्त गरिन्। विराटनगर जेसीजकी जनसम्पर्क अधिकारी आकृति रानी फुयालका अनुसार कार्यक्रम सभ्य र भव्य रूपमा सम्पन्न भएको थियो।